होमपेज » हेडलाइन » धुलिखेल–खावा सडक स्तरोन्नतिका लागि असार २२ देखि १५ दिन रात्रिकालीन यातायात बन्द हुने

धुलिखेल–खावा सडक स्तरोन्नतिका लागि असार २२ देखि १५ दिन रात्रिकालीन यातायात बन्द हुने

आईतवार, १४ असार २०८३, १४:३९

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको कालोपत्र तथा स्तरोन्नतिको कामलाई गति दिन आगामी असार २२ गतेदेखि रात्रिकालीन समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिले सडक निर्माणलाई छिटो सम्पन्न गर्ने उद्देश्यले साउन ४ गतेसम्मका लागि रातको समयमा यातायात आवागमन बन्द गर्ने निर्णय गरेको हो।

जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार उक्त १५ दिनको अवधिमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक र मालवाहक सवारीसाधन प्रवेशमा रोक लगाइनेछ। सडक निर्माणको कामलाई थप प्रभावकारी बनाउन टिपर र ठूला मालवाहक ट्रकहरूलाई भने सो सडकखण्डमा उक्त अवधिभर पूर्ण रूपमा निषेध गरिएको छ। यद्यपि, एम्बुलेन्स लगायत अत्यावश्यक सेवाका सवारीसाधनहरू भने जुनसुकै समयमा पनि निर्वाध रूपमा सञ्चालन हुन पाउनेछन्।

आर्थिक वर्षको अन्त्य हुन लागेको अवस्थामा अन्य विकास निर्माणका लागि आवश्यक सामग्री ढुवानीमा असर नपरोस् भन्ने कुरालाई ध्यानमा राख्दै सडक बन्द गर्ने यो कार्ययोजनालाई केही पछि सारिएको बताइएको छ। समितिले सर्वसाधारण यात्रु र यातायात व्यवसायीलाई सास्ती नहोस् भन्नका लागि सम्भव भएसम्म वैकल्पिक सडकको प्रयोग गर्न आग्रहसमेत गरेको छ। सवारीसाधनको चाप व्यवस्थापन गर्न र चालकहरूलाई सहजीकरण गर्न काठमाडौं, भक्तपुर, सिन्धुपाल्चोक र दोलखाका जिल्ला प्रशासन कार्यालयहरूसँग आवश्यक समन्वय गरिने समितिले जनाएको छ।

यस सडकखण्डको निर्माणलाई तीव्रता दिन यसअघि गत चैत महिनामा पनि करिब एक महिना रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो। सो अवधिमा दिउँसो एकतर्फी मात्र सवारीसाधन खुलाएर साढे दुई किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भइसकेको छ।