होमपेज » हेडलाइन » कर्णालीमा नयाँ झोलुङ्गे पुल सञ्चालन: कैलाली र बर्दियाको दूरी छोटियो, आन्तरिक पर्यटकको घुइँचो

कर्णालीमा नयाँ झोलुङ्गे पुल सञ्चालन: कैलाली र बर्दियाको दूरी छोटियो, आन्तरिक पर्यटकको घुइँचो

आईतवार, १४ असार २०८३, १४:३२

टीकापुर  । कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिकालाई जोड्ने गरी कर्णाली नदीको दौलतपुर घाटमा नवनिर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ। पुल निर्माण सम्पन्न भई आवागमन खुला गरिएसँगै यस क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ। वर्षौंदेखि डुङ्गामार्फत हुँदै आएको जोखिमपूर्ण यात्रा सधैँका लागि अन्त्य भएको छ भने यो क्षेत्र अहिले आन्तरिक पर्यटकको नयाँ गन्तव्य बनेको छ ।

बढ्दो गर्मी छल्न, कर्णाली नदीको चिसो हावा खान र आसपासका हरियाली फाँटहरूको सुन्दरतामा रमाउन साँझपख पुलमा सर्वसाधारणको ठूलो भीड लाग्ने गरेको छ। टीकापुर–५ का स्थानीय किरण चौधरीले साँझको समयमा शीतलताका लागि पुलमा आउने पर्यटकको सङ्ख्या आफूहरूले सोचेभन्दा धेरै रहेको बताए। पर्यटकको बाक्लो उपस्थितिले स्थानीय स्तरमा साना व्यापार र रोजगारीका अवसरसमेत सिर्जना गरेको छ। विशेषगरी तस्बिर र भिडियो खिच्ने व्यावसायिक फोटोग्राफरहरूका लागि यो पुल आकर्षक आम्दानीको स्रोत बनेको छ। यसअघि टीकापुर पार्क र बर्दियाको इन्टेक क्षेत्रमा काम गर्दै आएका बर्दियाका राजेश चौधरी हिजोआज पुलमै व्यस्त देखिन्छन् । पर्यटकको चाप बढेकाले अन्यत्र जानै नपरेको र राम्रो आम्दानी भइरहेको उनको भनाइ छ ।

यस पुलले कैलाली र बर्दियाको भौगोलिक दूरीलाई उल्लेख्य रूपमा कम गरिदिएको छ। पहिले करिब २४ किलोमिटर घुमेर यात्रा गर्नुपर्ने बाध्यता अहिले १५ किलोमिटरमा खुम्चिएको छ। स्थानीय बासिन्दा प्रेमप्रसाद भण्डारी यस पुलले दुई जिल्लाको पर्यटकीय सम्भावनालाई जोड्नुका साथै नजिकै रहेको टीकापुर पार्कमा समेत पर्यटकको सङ्ख्या बढाउन मद्दत गर्ने बताउँछन् । यसले समग्रमा स्थानीयको आयस्तर उकास्ने र दैनिक जीवन थप सहज हुने उनको विश्वास छ। अर्का स्थानीय सुन्दरलाल थारुले पनि पुल पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएकाले भविष्यमा थप व्यावसायिक गतिविधि फस्टाउने आशा व्यक्त गरे।

करिब १५ करोड ७३ लाख ९५ हजार ५ सय २८ रुपैयाँको लागतमा निर्माण भएको यस पुलको लम्बाइ ४ सय ८२ मिटर रहेको छ। विसं २०८२ असार ११ गते सम्झौता भई २०८४ असार ११ सम्मको म्याद रहे पनि निर्माणको जिम्मा पाएको थानी निर्माण सेवाले लक्ष्यभन्दा अगावै एक वर्षभित्रै सम्पूर्ण काम पूरा गरेको हो। निर्माण कम्पनीका प्रबन्धक विक्रम बस्नेतका अनुसार असार १२ गतेका लागि तय भएको औपचारिक उद्घाटन केही कारणवश रोकिए पनि सर्वसाधारणका लागि पुल पूर्ण रूपमा खुला भइसकेको छ। अब छिट्टै हस्तान्तरणको औपचारिक प्रक्रिया पूरा गरिने उनले जानकारी दिए ।

यसैबीच, टीकापुर नगरपालिका हुँदै बर्दियाको गेरुवा गाउँपालिका जोड्ने सन्कट्टीस्थित कर्णाली नदीमाथि निर्माण भइरहेको अर्को पक्की पुलको काम पनि सम्पन्न भई सवारी आवागमन सञ्चालनमा आइसकेको छ। यी पूर्वाधारहरूको निर्माणसँगै कर्णाली नदीले छुट्याएका दुई जिल्लाको जनजीवन, पर्यटन र अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गरिएको छ ।