होमपेज » हेडलाइन » ध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त र सिनेट असार ३ मा, झन्डै दुई हजार विद्यार्थी दीक्षित हुँदै

ध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त र सिनेट असार ३ मा, झन्डै दुई हजार विद्यार्थी दीक्षित हुँदै

मंगलवार, २ असार २०८३, १६:५६

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले आफ्नो १८औँ सभा (सिनेट), चौथो दीक्षान्त र १६औँ वार्षिकोत्सव एकै दिन भव्य रूपमा मनाउने तयारी गरेको छ। विश्वविद्यालयले यही असार ३ गते बुधबार यी तीनवटै महत्वपूर्ण कार्यक्रमहरू एकसाथ आयोजना गरेर विद्यार्थीहरूलाई दीक्षित गर्न लागेको हो।

सञ्चार तथा प्रचारप्रसार उपसमितिका संयोजक डा. विष्णुकुमार खड्काका अनुसार यस चौथो दीक्षान्त समारोहको ग्रेस लिस्टमा कुल एक हजार नौ सय २८ जना विद्यार्थी अटाएका छन्। जसमध्ये समारोहमा प्रत्यक्ष उपस्थित भएर गाउन पहिरिँदै दीक्षित हुनका लागि चार सय ५५ जना विद्यार्थीले आवेदन दिएका छन्। विश्वविद्यालयअन्तर्गत सञ्चालित सातवटा ग्राजुएट स्कुलबाट शैक्षिक उपाधि हासिल गरेका स्नातक तहका एक हजार दुई सय २२, स्नातকোত্তর तहका छ सय ९४ र दर्शनाचार्य (एमफिल) तहका १२ जना विद्यार्थीलाई यसपटक दीक्षित गर्ने कार्यक्रम तय भएको छ। संयोजक खड्काले दिएको जानकारीअनुसार यस विश्वविद्यालयबाट हालसम्म छ हजार तीन सय ७० जना विद्यार्थी दीक्षित भइसकेका छन्।

दीक्षान्त तथा वार्षिकोत्सव समारोह विश्वविद्यालयका सहकुलपति तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न हुनेछ। उक्त समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति एवं वरिष्ठ शिक्षाविद् केदारभक्त माथेमा प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ। यसैगरी, विश्वविद्यालयको सभा (सिनेट) मा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि तयार पारिएको एक अर्ब ४९ करोड रुपैयाँ बराबरको बजेट तथा आयव्यय विवरण स्वीकृत गर्ने प्रमुख कार्यसूची रहेको विश्वविद्यालयका उपकुलपति डा. नारायणप्रसाद पौडेलले जानकारी दिएका छन्। सोही सभामार्फत ग्रेस लिस्टमा रहेका विद्यार्थीहरूलाई दीक्षित गर्ने प्रस्तावसमेत औपचारिक रूपमा पारित गरिने जनाइएको छ।