होमपेज » हेडलाइन » स्वास्थ्य मन्त्रालयद्वारा मेडिकल काउन्सिल, बीमा बोर्ड र गंगालालसहितका निकायमा उच्च पदाधिकारी माग

स्वास्थ्य मन्त्रालयद्वारा मेडिकल काउन्सिल, बीमा बोर्ड र गंगालालसहितका निकायमा उच्च पदाधिकारी माग

मंगलवार, २ असार २०८३, १४:०१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका प्रमुख स्वास्थ्य निकायहरूमा लामो समयदेखि रिक्त रहेका उच्च पदाधिकारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न स्वास्थ्यसम्बन्धी परिषद् (काउन्सिल), स्वास्थ्य बीमा बोर्ड र विशिष्टीकृत अस्पतालको नेतृत्व सम्हाल्न योग्य तथा इच्छुक व्यक्तिहरूबाट आवेदन मागेको हो।

मन्त्रालयको सूचनाअनुसार विभिन्न आधा दर्जन परिषद्हरूमा नेतृत्व चयन गर्न लागिएको छ। जसअन्तर्गत नेपाल मेडिकल काउन्सिल, नेपाल फार्मेसी परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष तथा रजिस्ट्रार पदका लागि दरखास्त खुलाइएको छ। यसैगरी, नेपाल नर्सिङ परिषद्का लागि अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार माग गरिएको छ भने नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) मा सदस्य र सदस्य सचिव पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ।

परिषद्हरूका अतिरिक्त सर्वसाधारणको प्रत्यक्ष चासो जोडिएको स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक नियुक्त गर्न लागिएको छ। साथै, देशकै प्रमुख मुटु अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका लागि पनि नयाँ कार्यकारी निर्देशकको खोजी गर्दै मन्त्रालयले दरखास्त मागेको छ।

सम्बन्धित निकायको ऐन तथा नियमावलीले तोकेको मापदण्ड र शैक्षिक योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आफ्नो आवेदन बुझाइसक्नुपर्ने मन्त्रालयले जनाएको छ। उम्मेदवारहरूलाई आवेदन प्रक्रियामा सहज होस् भन्ने उद्देश्यले भौतिक र अनलाइन दुवै माध्यमबाट दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ।

इच्छुक व्यक्तिले सिंहदरबारस्थित मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा आफैं उपस्थित भएर कागजात बुझाउन सक्नेछन्। त्यसैगरी, मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको लिंकमार्फत अनलाइनबाटै पनि आवेदन पेस गर्न सकिनेछ। दरखास्तका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजात र छनोट कार्यविधिसम्बन्धी सम्पूर्ण विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा राखिएको सूचनामा उल्लेख छ।