होमपेज » हेडलाइन » भैरहवादेखि कोरलासम्मको सडकलाई ‘पर्यटकीय राजमार्ग’ बनाइने : पर्यटनमन्त्री पौडेल

भैरहवादेखि कोरलासम्मको सडकलाई ‘पर्यटकीय राजमार्ग’ बनाइने : पर्यटनमन्त्री पौडेल

आईतवार, २१ असार २०८३, १७:३९

मुस्ताङ  । सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको कालीगण्डकी करिडोरलाई ‘पर्यटकीय राजमार्ग’का रूपमा विकास गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दक्षिणको भैरहवादेखि उत्तरको चीन सीमाना कोरला नाकासम्म जोडिने यस सडकखण्डलाई सरकारले पर्यटकीय राजमार्गको रूपमा द्रुत गतिमा स्तरोन्नति गर्ने योजना अगाडि बढाएको उद्घोष गर्नुभएको हो ।

 

जिल्ला प्रशासन कार्यालय मुस्ताङले आयोजना गरेको मुस्ताङको पर्यटन विकास र प्रवर्द्धनसम्बन्धी बृहत् छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले उक्त कुरा बताउनुभएको हो । देशको आर्थिक समृद्धिको मुख्य आधार नै पर्यटन क्षेत्र भएकाले कोरला सडकलाई पर्यटन राजमार्गका रूपमा स्थापित गर्नुको विकल्प नभएको उहाँको भनाइ थियो । यसका साथै मन्त्री पौडेलले हिमाली भेगका दुई दुर्गम जिल्ला जोड्ने मुस्ताङ–डोल्पा सडकलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो ।

 

छलफलका क्रममा मन्त्री पौडेलले प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य मुक्तिनाथ क्षेत्रमा बढ्दै गएको स्वास्थ्य जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो । पछिल्लो समय मुक्तिनाथ दर्शनका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूमा लेक लाग्ने (अल्टिच्युड सिकनेस) समस्या जटिल बन्दै गइरहेको सन्दर्भलाई जोड्दै उहाँले यसको समाधानका लागि तत्काल ‘पर्यटक टाइम कार्ड’ लागू गर्न सरोकारवाला निकायहरूलाई सुझाव दिनुभयो । उचाइमा जाँदा शरीरलाई हावापानीसँग अनुकूल बनाउन र सम्भावित मानवीय क्षति रोक्न टाइम कार्ड प्रणाली निकै प्रभावकारी हुने मन्त्री पौडेलको विश्वास छ ।

 

कार्यक्रममा मुस्ताङका पर्यटन व्यवसायी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले पर्यटन क्षेत्रले भोग्नुपरेका वर्तमान चुनौती र विकासका सम्भावनाहरूबारे मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए । उनीहरूले सडक पूर्वाधारको दुरवस्था, पदमार्गको विनाश र पर्यटनमैत्री नीतिको अभावलगायतका विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने माग राखेका थिए । व्यवसायीहरूको गुनासो सुनेपछि मन्त्री पौडेलले नीतिगत सुधार र पूर्वाधार विकासमा सरकारले सरोकारवालाहरूसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।