काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद्ले सदैव मुलुक र जनताको आवश्यकतालाई ध्यानमा राखेर कानुन निर्माण गर्ने बताउनुभएको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१३ स्थित कङ्काली माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कानुन निर्माणको सर्वोच्च थलो संसद्ले जनभावनाको कदर गर्दै समयसापेक्ष ऐन, कानुन बनाउने कुरामा जोड दिनुभएको हो ।
कानुन निर्माणको मुख्य जिम्मेवारी र नेतृत्वदायी भूमिकामा आफू रहेको उल्लेख गर्दै सभामुख अर्यालले देशको वर्तमान अवस्था र नागरिकका दैनिक समस्यालाई सम्बोधन गर्न सक्ने व्यावहारिक कानुन निर्माणमा संसद्को ध्यान केन्द्रित रहेको स्पष्ट पार्नुभयो । सोही अवसरमा उहाँले कङ्काली माध्यमिक विद्यालयले आफ्नो स्थापनाकालदेखि हालसम्म हासिल गरेको शैक्षिक प्रगतिको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । बयालिस वर्षअघि मात्र चार जना विद्यार्थीबाट पठनपाठन सुरु गरेको यस विद्यालयले भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरमा मारेको फड्को समग्र सामुदायिक विद्यालयका लागि उदाहरणीय रहेको उहाँको भनाइ थियो । काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचित अर्यालले विद्यालयको निरन्तर उन्नयन र प्रगतिका लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपस्थित अन्य जनप्रतिनिधिहरूले पनि विद्यालयको शैक्षिक विकासमा हातेमालो गर्ने प्रतिबद्धता जनाएका थिए । वार्षिकोत्सव समारोहमा बोल्दै नेकपा (एमाले) की प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न खेलेको भूमिकाको कदर गर्नुभयो । उहाँले आगामी दिनमा विद्यालयको थप प्रगतिको कामना गर्दै आफ्नो तर्फबाट र नीतिगत तहबाट गर्नुपर्ने जुनसुकै सहयोगका लागि आफू सधैँ तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैगरी, कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु पनेरुले विद्यालयले बितेका चार दशकमा पार गरेका आरोहअवरोह र प्राप्त गरेका शैक्षिक उपलब्धिहरूको विस्तृत चर्चा गर्नुभएको थियो । सीमित स्रोतसाधनका बाबजुद समुदायको साथ र शिक्षकहरूको अथक मेहनतले विद्यालय आजको अवस्थामा आइपुगेको स्मरण गर्दै प्रधानाध्यापक पनेरुले आगामी दिनमा प्राविधिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय परिवारले थप मिहिनेत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी तथा शिक्षाप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।










