काठमाडौँ । मनसुन सक्रिय भई दैनिक रूपमा वर्षा हुन थालेसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम उच्च बढेको छ । वर्षातको पानी विभिन्न स्थानमा जम्ने र त्यसमा डेङ्गी सार्ने लामखुट्टेले सजिलै प्रजनन गर्ने भएकाले सम्भावित महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आम सर्वसाधारणमा विशेष अपिल गरेको छ ।
महाशाखाअन्तर्गतको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले केही दिनयता लगातार परिरहेको पानीका कारण डेङ्गी सङ्क्रमण तीव्र रूपमा फैलन सक्ने खतरा रहेको औँल्याउनुभएको छ । उहाँका अनुसार आकाशबाट परेको पानी खाल्डाखुल्डी, फालिएका टायर, भाँडाकुँडा, र गमला लगायतका खुला स्थानमा जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको तीव्र विकास हुने गर्दछ । तिनै सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गी सर्ने भएकाले वर्षायाम सुरु भएसँगै सङ्क्रमणको जोखिम पनि ह्वात्तै बढ्ने उहाँले स्पष्ट पार्नुभयो ।
डेङ्गीको पछिल्लो तथ्याङ्क प्रस्तुत गर्दै डा. दाहालले असार ९ गतेदेखि १५ गतेसम्मको एक साताको अवधिमा मात्रै ६३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको जानकारी दिनुभयो । अहिले दैनिकजसो वर्षा भइरहेकाले सडक तथा घर वरपरका पानी जम्न सक्ने खाल्डाखुल्डीमा लामखुट्टेका प्रजाति विकसित भई सङ्क्रमणको दर अझै बढ्न सक्ने चेतावनी महाशाखाले दिएको छ । महाशाखाका अनुसार नेपालमा विशेषगरी असार महिनादेखि सुरु हुने डेङ्गी सङ्क्रमणको उच्च जोखिम कात्तिक महिनासम्म निरन्तर कायम रहने गर्दछ ।
डेङ्गी रोग मुख्यतया पानी जम्ने सफा ठाउँमा फूल पार्ने ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । डा. दाहालका अनुसार यी लामखुट्टेले जमेको सफा पानीमा फूल पार्दछन्, ती फूलबाट लार्भा निस्कन्छन् र त्यही लार्भा वयस्क भएर मानिसलाई टोकेपछि डेङ्गी सङ्क्रमण हुन्छ । यसबाट बच्नका लागि लामखुट्टेले फूल पार्न सक्ने सम्भावित ठाउँहरूको पहिचान गरी घर वरिपरिका खाल्डाखुल्डी पुर्ने, भाँडाकुँडामा पानी जम्न नदिने, वातावरणीय सरसफाइमा विशेष ध्यान दिने र सुत्ने बेलामा अनिवार्य रूपमा झुलको प्रयोग गर्ने जस्ता प्रतिरोधात्मक उपायहरू अपनाउनु नै सबैभन्दा प्रभावकारी विकल्प रहेको महाशाखाले जनाएको छ ।










