होमपेज » हेडलाइन » धुलिखेल–खावा सडकखण्ड : वर्षाले निर्माण सामग्री बगाएपछि रात्रिकालीन बन्दको निर्णय स्थगित

धुलिखेल–खावा सडकखण्ड : वर्षाले निर्माण सामग्री बगाएपछि रात्रिकालीन बन्दको निर्णय स्थगित

सोमबार, २२ असार २०८३, १३:२३

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत हाल स्तरोन्नतिको चरणमा रहेको धुलिखेल–खावा सडकखण्डमा रातको समयमा यातायात बन्द गर्ने पूर्ववत् निर्णय तत्कालका लागि स्थगित भएको छ । लगातारको वर्षाका कारण सडक कालोपत्रे गर्ने काम प्रभावित भएपछि रात्रिकालीन समयमा सवारी आवागमन रोक्ने योजनाबाट सरोकारवालाहरू पछि हटेका हुन् । यससँगै अब उक्त सडकखण्डमा रातको समयमा पनि निर्बाध रूपमा सवारीसाधन सञ्चालन हुन पाउने भएका छन् ।
सडक निर्माणलाई तीव्रता दिने उद्देश्यले पहिलो चरणको कालोपत्रे गर्न आज (शुक्रबार) देखि आगामी १५ दिनसम्म रातको समयमा सवारी आवागमनमा रोक लगाउने निर्णय गरिएको थियो । बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरेर काम गर्ने कार्यतालिका तय भए पनि केही दिनयताको अविरल वर्षाले सडकमा बिछ्याइएको निर्माण सामग्री बगाएपछि यो योजना सम्भव नभएको हो । सडक डिभिजन कार्यालयका अनुसार, ‘सिटिबी’ तथा ‘डिबीएम’ गर्नका लागि सडक सम्याएर हालिएको ‘सब–बेस’ वर्षाले केही स्थानमा बगाएको र कतै नराम्ररी क्षति पुर्‍याएको छ ।

कार्यालयका इन्जिनियर सीताराम बुढाथोकीले सडकको अवस्था बिग्रिएकाले आवागमन रोकेरै कालोपत्रेको काम गर्न हाललाई सम्भव नदेखिएकाले सडक बन्द नगरिने स्पष्ट पार्नुभयो । उहाँका अनुसार निर्माण कम्पनीले आजै पत्राचार गरी वर्षाका कारण निर्धारित कार्यतालिका फेरबदल गर्नुपरेको र रात्रिकालीन बन्दको कार्यक्रम केही समय पछाडि सार्न आग्रह गरेपछि सडक खुला नै राख्ने निर्णयमा पुगिएको हो ।

यसअघि जिल्ला सुरक्षा समिति काभ्रेले उक्त सडकखण्डमा आजदेखि आगामी साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारी आवागमन बन्द गरी निर्माण कार्य अघि बढाउने निर्णय गरेको थियो । सो अवधिमा सडकखण्ड कालोपत्रे गर्दा टिपर र मालवाहक ठूला ट्रकलाई पूर्ण रूपमा प्रवेश निषेध गर्ने तथा अन्य यात्रुवाहक र साना मालवाहक सवारीसाधनलाई बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म प्रवेशमा रोक लगाउने तयारी थियो । विस्तारको क्रममा रहेको उक्त सडकखण्डको कुल दूरी चार किलोमिटर रहेको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरले असार दोस्रो सातादेखि नै राति यातायात रोकेर निर्माण कार्यलाई तीव्रता दिने तयारी गरेको थियो । तर, आर्थिक वर्षको अन्त्यको समय भएकाले निर्माण सामग्री ढुवानी तथा अन्य आर्थिक गतिविधि प्रभावित नहोस् भन्ने हेतुले समितिले सडक निर्माण प्रक्रियालाई केही समय ढिलाइ गर्न लगाएको थियो । यसअघि गत चैत महिनामा पनि करिब एक महिनाभर रातको समयमा पूर्णतः आवागमन बन्द तथा दिउँसो एकतर्फी सवारी सञ्चालन गरेर यस खण्डको अढाई किलोमिटर सडकमा कालोपत्रे (डिबिएम–पीच) को काम सम्पन्न गरिएको थियो । बाँकी खण्डको काम पनि छिटै सक्ने लक्ष्य राखिए पनि मौसम प्रतिकूल हुँदा यात्रु र निर्माण व्यवसायी दुवैले सास्ती खेप्नुपरेको छ ।