काठमाडौं । गण्डकी प्रदेशमा कोरोनाभाइरस संक्रमण गाउँगाउँमा फैलिएको छ । निषेधाज्ञाका बाबजुद संक्रमण नियन्त्रणमा आउन सकेको छैन । कोरोना संक्रमणको चेन ब्रेक गर्न प्रदेशका अधिकांश जिल्लामा वैशाख २१ गतेदेखि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा लगाइए पनि प्रदेशमा दैनिक सयौंको संख्यामा संक्रमित थपिँदै गएका छन् भने मृत्यु हुनेको संख्या पनि बढ्दो छ ।
वैशाख महिनामा विवाह, भोजभतेर लगायतका कार्यक्रमले गर्दा गाउँगाउँमा संक्रमण पुगेको स्वास्थ्यकर्मीहरु बताउँछन् । पछिल्लो समयमा कास्की, पर्वत, बागलुङ, स्याङ्जा, तनहुँ लगायतका जिल्लाका ग्रामीण क्षेत्रमा विवाह र भोजमा सहभागी भएकामध्ये ठूलो संख्यामा संक्रमण देखिएको छ ।
पछिल्लो समय विवाह, ब्रतबन्ध, चौरासी पूजा र भोजभतेर लगायतका कार्यक्रम आयोजना गरिएका ठाउँमा महामारीका रुपमा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्मा बताउँछन् ।
विवाह भोजमार्फत समुदायमा संक्रमण फैलिएर पछिल्लो समय बागलुङ र कास्कीका केही गाउँ नराम्रोसँग प्रभावित भएका छन् । बागलुङको बडिगाडमा विवाहपछि एकै परिवारका ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बलेवा, काठेखोला, ताराखोला र बडिगाड गाउँपालिकामा विवाह भोजकै कारण समुदायस्तरमा संक्रमण फैलिएको छ ।










