काठमाडौं । काठमाडौं नेपालमा अक्सिजनको अभाव भएपछि तातोपानी नाकाबाट २५ सय सिलिन्डर अक्सिजन नेपाल आइपुगेको छ । १० लिटर क्षमताको ती सिलिन्डर नेपा हिमा ट्रेड लिङ्कले आयात गरेको हो ।
चीनबाट आजै नेपाल प्रवेश गरेको ८ वटा कन्टेनरमध्ये दुईवटामा अक्सिजन सिलिन्डर र एकवटामा माक्स लगायतको स्वास्थ सामग्री नेपाल आइपुगेको हो । बाँकी ५ कन्टेनरमा भने स्याउ आइपुगेको हो ।
तातोपानी भन्सार कार्यालयका अनुसार ती सामाग्री आयातकर्ताले आजै काठमाडौं पु¥याउनेछन् । स्वास्थ्य सामग्री क्युमा पनि नराखिने र राजस्व पनि नलाग्ने भएकोले छिट्टै नै भन्सार प्रक्रिया पूरा गरेर पठाईने भन्सार कार्यालयले जनाएको छ ।
‘तातोपानी नाकाबाट आज पहिलोपटक अक्सिजन सिलिन्डर नेपाल प्रवेश गरेको हो’ तातोपानी भन्सारका प्रमख भन्सार अधिकृत नारद गौतमले भने, ‘यसबाट नेपालमा फैलिएको कोरोना महामारीमा परेका जनताको स्वास्थ्य उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।’










