काठमाडौ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रवन्धका डिआइजी पुरूषोत्तम कँडेल र एसपी प्रेम बस्नेतले झुक्याउने गरेका छन् भन्ने कुरा भर्खरै भएका दुई घटनाले पुष्टि गरेका छन् ।
डिआइजी कडेलसंग नजिक रहेका ठेकेदार राजमान मिश्रलाई कारवाहीबाट जोगाउनका लागि उनलाई बुझाएको ट्युनिक कपडा फेल भए पनि सामान फिर्ता दिने काम भएको छ । जब कि यसै आर्थिक बर्षमा भएको अर्को टेण्डरमा भने सामान फेल हुनेबित्तिकै यिनै डिआइजी कडेलले उक्त कम्पनीको बैंक ग्यारेन्टी खाएर कालो सुचिमा हाल्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेका थिए । त्यसै अनुरूप उक्त कार्यालयले पूजा ट्रेडिङ नामक कम्पनीलाई कालो सुचीमा हालेको छ ।
पूजा ट्रेडिङले यसै आर्थिक बर्षमा एक लाख साठी हजार मिटर कटन कपडाको ठेक्का पाएको थियो । एउटै आर्थिक बर्षमा भएको ठेक्का प्रक्रियामा कुनै ठेकेदारलाई काखा र कुनै ठेकेदारलाई पाखा गर्नु त्यसमाथि कानुन बिपरित, त्यसको पछाडि रकमको ठूलो चलखेल छ भन्ने कुरा स्वतह प्रष्ट हुन्छ । डिआइजी कडेलले अहिले आइजिपी शैलेश थापा क्षेत्रीको सोझो पनको फाइदा व्यापक उठाई रहेका छन ।
ठेकेदार राजमान मिश्रले पाएको दुई हजार मिटर ट्युनिक कपडा (भीभीआईपीको सवारीमा मोटरसाइकल चालकले लगाउने सेतो पोशाक) को गुणस्तर फेल भएको छ । उनले बुझाएको कपडा नेपाल गुणस्तर तथा नापतौल बिभागमा टेष्ट गर्न पठाएकोमा फेल भएको छ । गुणस्तर फेल भएपछि ठेक्का पाउने कम्पनीको बैंक ग्यारेन्टी खाई कारवाहीका लागि खरिद अनुगमन कार्यालयमा पठाउनुपर्नेमा त्यसो नगरी उल्टो ठेकेदारलाई नै सामान फिर्ता गरी जोगाउने काम भएको छ ।
यो काममा भण्डारका डिएसपी गोविन्द पुरीको समेत संलग्नता रहेको कुरा बाहिर आएको छ । ठेकेदार मिश्रसँग डिआइजी कँडेल, एसपी बस्नेत र भण्डारका डिएसपी पुरीको धेरै नजिकको सम्बन्ध रहेको छ । फेल भएको कपडामा केही राम्रो गुणस्तरको राखेर पुनः टेण्डर हुँदा गुणस्तरमा समेत सेटिङ गरी बुझाउने चाँजोपाँजो ठेकेदार मिश्रले मिलाएका छन् ।
भण्डारका डीएसपी पुरीले राम्रोमध्येको बाट गुणस्तर परीक्षणमा पठाउने र पास गर्ने खेल भइरहेको छ । आइजीपी शैलेश थापा क्षेत्री प्रहरीको खरिदमा पारदर्शीता कायम गर्न चाहन्छन । तर प्रबन्धमा विगतमा ठाकुर ज्ञवालीले राखेको सेटलाई नै राखेका छन् । आइजीपी थापाले आर्थिक प्रशासन नै हटाएर बजेट शाखा सहित सबै प्रबन्धमै गाभेका छन् । ठाकुर ज्ञवालीकै विश्वासपात्र प्रबन्धका एसपी प्रेम बस्नेतलाई पनि उनले चलाएका छैनन् ।










