होमपेज » समाचार » नेपाल ६–२ को अन्तरले पराजित

नेपाल ६–२ को अन्तरले पराजित

आईतवार, १६ जेष्ठ २०७८, १०:२१

काठमाडौं । घरेलु टोली इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ को फराकिलो अन्तरले पराजित भएको छ ।

 

बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा पहिलो हाफमा इराकले ४–२ को अग्रता लिएको थियो । खेलको आठौं मिनेटमा इराकका अला अब्दुल खासिनले फ्रिकिकमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

 

मनिष डाँगीले फल गरेपछि प्राप्त फ्रिकिकमा खासिन आफैले फ्रिकिक प्रहार गर्दै गोल गरेका थिए । त्यसलगत्तै इराकका डिफेन्डर अहमद इब्राहिम खलिफले आत्मघाती गोल गरेपछि नेपालले बराबरी गरेको थियो । अञ्जन विष्टले इराकी गोलरषक फहाद रहिमलाई बिट गर्दै प्रहार गरेको बललाई खलिफले बचाउने क्रममा आफ्नै पोस्ट्को जाली चुमाएका थिए ।

 

खेलको ३९औं मिनेटमा पहिलो पटक राष्ट्रिय टोलीमा डेब्यु गरेका मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाएका थिए । मनिषसँगै डिफेन्डर गौतम श्रेष्ठले पनि इराकविरुद्ध डेब्यु गरेका थिए । तर, नेपालको अग्रता लामो समयसम्म टिक्न सकेन । लगत्तै मोहमद ओबिदले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए ।

 

शारीरिक रुपमा निकै बलिया इराकी खेलाडीले लगातार पोस्ट आक्रमण गर्दै गोलरक्षक किरण चेम्जोङलाई निकै व्यस्त राखेको थियो । खेलको ४०औं मिनेटमा अमेन हुसेनले गोल गर्दै इराकलाई ३–२ को अग्रता दिलाए । किरण चेम्जोङ अगाडि बढेको मौकामा उनले वान भर्सेस वानमा गोल गरेका थिए ।

 

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा हुसेनले नै व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाएका थिए । उनले कर्नरमा प्राप्त बलमा हेड गोल गरेका थिए ।

 

दोस्रो हाफमा भने नेपालले सुधारिएको प्रदर्शन गरेको थियो । इराकी आक्रमणको नेपाली रक्षकले डटेर सामना गरे पनि इराकले दुई गोल थप्न सफल भयो । ६८औं मिनेटमा सुमन अर्यालको खराब ब्याक पासको फाइदा उठाउँदै इराक ५–२ को अग्रता लियो । वैकल्पिक खेलाडी मोहमद अलि अलसम्मारीले उक्त पासलाई नियन्त्रणमा लिँदै वान भर्सेस वनमा गोल गरेका थिए । खेलको ७४औं मिनेटमा सज्जाद जसिमले गोल गर्दै इराकलाई ६–२ को जित दिलाए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

 

नेपालले २० वर्षपछि घरेलु टोली इराकसँग फुटबल खेलेको हो । यसअघि भएका तीनवटै भेटमा इराकले जित निकालेको थियो । नेपाल र इराकबीच पहिलो भेट सन् १९८२ नोभेम्बर २३ मा भएको थियो । एसियन गेमअन्तर्गत भारतको नयाँ दिल्लीमा भएको भेटमा इराकले ३–० गोलकोजित निकालेको थियो । यसैगरी सन् २००१ अप्रिल १४ मा इराकमै भएको दोस्रो भेटमा भने नेपाल ९–१ गोलले पराजित भएको थियो । उक्त खेलमा नेपालका नीराजन रायमाझीले एक गोल गरेका थिए । यसैगरी सन् २००१ मै फिफा विश्वकप छनोटको खेलमा नेपाल इराकसँग ४–२ गोलले पराजित भएको थियो । उक्त भिडन्तमा नेपालका हरि खड्का र नीराजन रायमाझीले एक÷एक गोल गरेका थिए ।

 

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोटअन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले माथिल्लो वरीयताको इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो । फिफा विश्वकप र एसिया कप छनोटका बाँकी खेल खेल्ने तयारीमा रहेको इराकको निमन्त्रणामा नेपाली टोली मैत्रीपूर्ण खेल खेल्न गएको हो । फिफाको पछिल्लो वरीयतामा इराक ६८औं स्थानमा छ भने नेपाल एक सय ७१औं स्थानमा छ ।

 

इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली स्थलमार्गबाट कुवेत जानेछ । विश्वकप छनोटअन्तर्गत एसियाली छनोटका नेपालले तीन खेल्न बाँकी छ । नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग एक÷एक खेल खेल्न बाँकी छ । कुवेतमा हुने छनोटका बाँकी खेलअन्तर्गत नेपालले जुन ३ मा ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ ।