होमपेज » समाचार » एनआईसी एशिया क्यापिटलले अर्को म्युचुल फण्ड निष्काशन गर्ने

एनआईसी एशिया क्यापिटलले अर्को म्युचुल फण्ड निष्काशन गर्ने

मंगलवार, १ असार २०७८, १२:०६

काठमाडौं । पछिल्लो समय नेपाली धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरु म्युचुअल फण्डहरुमा आकर्षित भइरहँदा एनआईसी एशिया क्यापिटलले अर्को म्युचुल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) निष्काशन गर्न लागेको हो ।

 

सो फण्डको इकाईका लागि असार १० गतेदेखि आवेदन दिन सकिनेछ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।

 

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

 

फण्डको इकाईमा असार १४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा असार २४ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ ।

 

सात वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । एनआईसी एशिया क्यापिटल एनआईसी एशिया बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।