काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आजबाट थप एक साता लम्बिएको निषेधाज्ञा अघिल्लो पटकको भन्दा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनेसँगै उपत्यकामा मानिसहरुको चहलपहल बढेको छ ।
संक्रमण दर घट्दै गएकाले निषेधाज्ञा खुकुलो बनाउने निर्णय उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गरेको थियो । सो निर्णयअनुसार आजबाट होटल, रेष्टुराँहरुलाई टेकअवे सेवा सन्चालन गर्न अनुमति दिइएको छ । काठमाडौं उपत्यकाभित्र अनलाइन तथा टेकअवे होम डेलिभरी सेवा साँझ ७ बजेसम्म मात्र सन्चालनको अनुमति दिइएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार आजबाट तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ । औषधि, तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल, डिपार्टमेन्टल (ग्रोसरी) खोल्न पाइने छ । तरकारी र फलफूल थोक बजारमा फुटकर बेच्न भने रोक लगाइएको छ ।










