होमपेज » समाचार » पोर्चुगल र बेल्जियमबीच आज १२:४५ बजे खेल हुने

पोर्चुगल र बेल्जियमबीच आज १२:४५ बजे खेल हुने

आईतवार, १३ असार २०७८, १५:००

काठमाडौं । युरोकप २०२० को कुनै टिम सुरुमै ठूला टिमहरु एक आपसमा खेल्नुपर्छ । यस्तै पोर्गुलले समूह चरणमै विश्व विजेता फ्रान्स अनि जर्मनी जस्ता टिमसँग खेलिसकेको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल र एडेन हाजार्डो कप्तानीमा रहेको बेल्जियमबीचको खेल प्रतिक्षित बनेको छ ।

 

यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार आज राति १२ः४५ बजे स्पेनको सेभियास्थित ला कार्टुया स्टेडियममा हुनेछ । बेल्जियमले समूह बी को विजेता बन्ने क्रममा सबै ३ खेल जितेको थियो । पोर्चुगलले समूहको अन्तिम खेलमा फ्रान्ससँग २–२ को बराबरी खेलेपछि पनि शीर्ष दुईमा पर्न सकेको थिएन । तर ६ समूहका तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि नकआउट चरणमा पुग्ने भएपछि पोर्चुगल पनि भाग्यमानी बन्यो । त्यसअघि हंगेरीलाई ३–० ले हराएको पोर्चुगल जर्मनीसँग ४–२ ले पराजित भएको थियो ।

 

उता बेल्जियमले पहिलो खेलमै रुसलाई ३–० ले सहजै हरायो । दोस्रो खेलमा डेनमार्कविरुद्ध एक गोलले पछि परेर पनि २–१ को जित हात पारेको बेल्जियमले तेस्रो खेलमा फिनल्याण्डलाई २–० ले पराजित गरेको थियो ।
पोर्चुगलले प्रतियोगितामा ७ गोल गर्दा रोनाल्डो एक्लै ५ गोल गरिसकेका छन् उनले एक असिस्टसमेत गरेका छन् । उता बेल्जियमका लागि रोमेलु लुकाकुले पनि ३ गोल गरिसकेका छन् । मिडफिल्डमा केभिन डे ब्रएनाको प्रेरणादायी प्रदर्शन बेल्जियमको लागि फाइदा बन्न सक्छ । रोनाल्डो र लुकाकु दुवै अहिले गोल्डेन बुटको होडमासमेत अघि छन् ।

 

बेल्जियमको टिमलाई अहिले गोल्डेन जेनेरेसनको रुपमा हेरिन्छ । तर फिफा वरीयतामा नम्बर वान भएर पनि उसले केही जित्न सकेको छैन । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य राखेको बेल्जियमले त्यसका लागि साविक विजेता पोर्चुगललाई पराजित गर्नुपर्नेछ ।

 

पोर्चुगल र बेल्जियम युरोकपमा पहिलो पटक खेल्न लागेका हुन् । यी दुई टोलीबीच सन् २०१८ मा भएको पछिल्लो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । अहिलेसम्म दुई टोलीबीच १८ खेल हुँदा पोर्चुगलले ६ र बेल्जियमले ५ खेल जितेको छ भने ७ खेल बराबरीमा सकिएको छ ।