होमपेज » हेडलाइन » ओली–नेपाल पक्षबीच वार्ता

ओली–नेपाल पक्षबीच वार्ता

बिहीबार, १७ असार २०७८, १२:५२

काठमाडौं । नेकपा एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरु आज बेलुकासम्मै एकता जोगाउने प्रयासमा लाग्ने भएका छन् । आज बिहान एक चरणको वार्ता गरेका उनीहरु पुनः अपरान्ह अर्को चरणको वार्तामा बस्ने वार्तामा सहभागी हुँदै आएका एक नेताले जानकारी दिए ।

‘आज बिहान एक चरणको वार्ता सकिएको छ । फेरि अपरान्ह बस्ने समझदारी भएको छ’, माधव नेपाल पक्षका एक नेताले भने, ‘एकताका लागि आज लगभग अन्तिम प्रयास हुनेछ ।’

एमाले विवाद समाधानका लागि अध्यक्ष केपी ओलीका तर्फबाट विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली लगायतका नेता र माधव समूहका भीम आचार्य, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरु सक्रिय छन् ।
तर, केपी शर्मा ओली पक्षले बुधबार महाधिवेशन आयोजक कमिटीको बैठक राखेर आयोजक कमिटी भंग गरेको घोषणा गर्दै जेठ २ मा फर्कने भनेपनि सहमतिबिनै केही नेताहरुलाई स्थायी समितिमा मनोनयन गरेपछि ओली फागुन २८ भन्दा अघि फर्कन नचाहेको माधव पक्षको बुझाइ छ ।

अध्यक्ष ओली फागुन २८ बाट पछि नहटेपछि जेठ २ को पार्टी संरचना अनुसार शुक्रबार बोलाएको भनिएको बैठकमा माधव समूह नजाने बताइसकेको छ । यद्यपी ओली पक्ष भने आउने जतिलाई समेटेर अघि बढ्ने रणनीतिमा छ ।