पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशको अधिकांश भूभागमा देखिएको तुवाँलो अझै केही दिन कायम रहने भएको छ ।
नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोका साथै लामो समय पानी नपरेको र हावा नचेलेका कारण वायु प्रदूषण बढेको तथा प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार मंगलबारको तुलनामा आज पारदर्शीता केही बढेको छ । उनका अनुसार अब निरन्तर बढ्ने सम्भावना देखिएको छैन ।
आज देशको केही स्थानमा फाट्टफुट्ट वर्षाका साथै हावाको बेग हल्का बढेकाले पारदर्शिता बढेको बताइएको छ । आगामी तीन दिन मौसम सुधार हुने कुनै अवस्था नदेखिएको विभागले जनाएको छ । राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।










