काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन भएको छ । अपि पावर र ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन भएको हो ।
नेप्सेले अपि पावर कम्पनीको १०.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य ४७८ रुपैयाँ ७३ पैसा कायम भएको छ । त्यसैगरी, ङादी ग्रुप पावरको २० प्रतिशत बोनस शेयर समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको शेयरमूल्य ८०७ रुपैयाँ ५० पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको आधारमा शेयरमूल्य यि दुबै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात हिजो अपि पावरको शेयर प्रतिकित्ता ५२९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने ङादी ग्रुपको ९६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । अपिले भदौ २५ गते, आफ्नो प्रधान कार्यालय, ट्रेड टावर थापाथलीमा अठारौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा भर्चुअल माध्यम जुम एप मार्फत सञ्चालन गरिनेछ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस शेयर वितरण गर्ने, सोको कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.३९३६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।










