होमपेज » समाचार » गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग

गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग

आईतवार, २० भाद्र २०७८, १६:४९

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक एक घण्टामै सतप्रतिशतभन्दा माथिले घटेको छ । कारोबारको पहिलो दिन आज १२ बजेर १२ मिनेट जाँदा ११०.९९ अंकले घटेर २८१६.०१ विन्दुमा आएको हो । राष्ट्र बैंकले सेयर धितोकर्जामा कडाइ गर्दै १२ करोड ऋणको सीमा तोकेपछि त्यसको असर सेयर बजारमा परिरहेको छ । आज ठूला लगानीकर्ताले राष्ट्र बैंकको निर्णय फिर्ता लिन दबाब दिँदै घेराउ समेत गरेका छन् ।

 

शेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजनीनामा माग गरेका छन् । आफ्नो सम्पत्ति धितोमा राखेर क्षमताअनुसार ऋण लिन पाउने सहज व्यवस्थालाई अप्ठेरो बनाउँदै शेयर धितो ऋणमा सीमा तोकिदिएको भन्दै लगानीकर्ताहरु रुष्ट बनेका छन् । राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएको छ । यसअघि यस्तो सीमा तोकिएको थिएन । करोडौं रकमको शेयर भएपनि त्यो धितोमा राखेर जम्मा १२ करोड रुपैयाँमात्रै ऋण लिन पाउने व्यवस्था गरिएको छ ।

 

यो व्यवस्थापछि लगातार शेयर बजार घटिरहेको छ । बजारमा निकै ठूलो नकरात्मक असर पार्ने भन्दै लगानीकर्ताहरुले रामकृष्ण ढकालको संयोजकत्वमा पुँजी बजार सुधार संर्घष समिति नै गठन गरेको छ । यो समितिले विज्ञप्ति जारी गर्दै गभर्नर अधिकारीले तत्काल राजीनामा दिनु पर्ने बताएको छ । १६ बुँदे मागको पहिलो नम्बरमा नै संघर्ष समितिले गभर्नरका कारण जनताको लगानी जोखिममा परेको बताएका छन् ।