होमपेज » अन्तर्राष्ट्रिय » तामाङ पत्रकारिता पुरस्कार स्थापनाका लागि अमेरिकाबाट दुई लाख सहयोगको घोषणा

तामाङ पत्रकारिता पुरस्कार स्थापनाका लागि अमेरिकाबाट दुई लाख सहयोगको घोषणा

आईतवार, २ माघ २०७८, १७:४०

काठमाडौँ। तामाङ सोसाइटी अफ नर्थ अमेरिका (टिएसएनए) का अध्यक्ष लक्यान लामा र मिडिया कोअर्डिनेटर ङिमा पाख्रिनले तामाङ पत्रकारिता पुरस्कार स्थापना गर्न एक एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

 

शुक्रवार काठमाडौँको निम्तो रेस्टुरेन्टमा तामाङ पत्रकार सङ्घ केन्द्रले आयोजना गरेको कार्यक्रममा अक्षयकोष स्थापनाका लागि लामा र पाख्रिनले एक एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्। अमेरिकाबाट भ्रमणका लागि स्वदेश आइपुगेका लामा र पाख्रिनसँग तामाङ पत्रकार सङ्घका सचिवालय तथा उपत्यकामा उपलब्ध कार्यसमिति सदस्यबिच आयोजित भेटघाट कार्यक्रममा उक्त सहयोग घोषणा भएको हो।

 

तामाङ समुदायबाट पत्रकारिता गरिरहेका व्यक्तिहरूलाई प्रोत्साहन होस् भन्ने उद्देश्यका साथ पुरस्कार प्रदानका लागि अक्षय कोष स्थापना गर्न उक्त रकम सहयोग गर्ने घोषणा आफूले गरेको टिएसएनका अध्यक्ष लामाले बताए। ‘तामाङ समाजको उत्थानका लागि मिडियाकर्मीको मुख्य भूमिका छ नै। मिडियाकर्मीको दक्षता बढाउन तालिमहरूको आवश्यकता हुन्छ नै। कुनै पनि काम गर्दा प्रक्रिया पुर्‍याएर गरौँ भन्नेमा मेरो जोड रहन्छ,’ कार्यक्रममा अध्यक्ष लामाले भने, ‘पुरस्कारले पनि प्रोत्साहन गर्छ। यस्तो कार्यका लागि सहयोग गर्न पाउँदा निकै खुसी लागेको छ।’

 

तामाङ समाजको हितका लागि काम गर्ने पत्रकारका लागि आफू सदैव तयार रहेको उनको भनाई थियो। अमेरिकामा कुनै कार्यक्रम हुँदा संस्थागत रूपमा काम अघि बढेमा आफूहरू तामाङ पत्रकारलाई निम्तो पठाउन तयार रहेकोसमेत उनले बताए।

 

टिएसएनका मिडिया कोअर्डिनेटर एवं सङ्घका सल्लाहकार पाख्रिनले अक्षय कोषका लागि आफूले थप रकम जुटाउने प्रयत्न गर्नेसमेत बताए। ‘अहिले मेरो व्यक्तिगत तर्फबाट एक लाख सहयोग गर्छु। अध्यक्षबाट एक लाख आउने पक्का भयो। थप रकम जुटाएर अक्षय कोष बलियो बनाउनेमा मेरो जोड रहन्छ,’ पाख्रिनले भने।

 

मिडियाका लागि आफूले सक्दो सहयोग गर्नेसमेत उनको भनाई थियो। सोही अवसरमा पाख्रिनलाई सङ्घले सम्मान पत्रसमेत प्रदान गर्‍यो। कोभिड-१९ को विपद्मा पाख्रिनको समन्वयमा अमेरिकाबाट स्वास्थ्य तथा खाद्य सामग्री सहयोग प्राप्त भएको थियो।

 

टिएसएनका अध्यक्ष लामा र मिडिया कोअर्डिनेटर पाख्रिनको माया र सद्भावले सङ्घलाई प्रोत्साहन मिलेको सङ्घका अध्यक्ष सुवास योञ्जनले बताए। प्राप्त रकमलाई अक्षय कोष स्थापना गरी सबैको सुझावअनुसार पुरस्कार स्थापना गर्ने अध्यक्ष योञ्जनले बताए। ‘तामाङ सोसाइटी अफ अमेरिकाले जुन किसिमको सद्भाव हामीलाई देखाउनु भएको छ। यो सराहनीय छ। यसले पक्कै पनि तामाङ समुदायका मुद्दा उठाइरहेका पत्रकारहरूलाई प्रोत्साहन मिल्नेछ,’ योञ्जनले भने। यो सहयोगले दुई संस्थाबिचको सम्बन्ध थप मजबुत हुने उनले बताए।

 

कार्यक्रममा तामाङ पत्रकार सङ्घका वरिष्ठ उपाध्यक्ष बुद्ध योञ्जन, उपाध्यक्षहरू नेत्र तामाङ, अन्जु तामाङ, महासचिव तीर्थमान बल, सचिव सरस्वती तामाङले टिएसएनएलाई धन्यवाद दिएका थिए। त्यसै गरी सङ्घका सल्लाहकार अमरध्वज तामाङ, प्रतीक ङेसुर तामाङ, जगतमान बल, निवर्तमान अध्यक्ष विष्णु मोक्तानले तामाङ पत्रकारको क्षमता वृद्धिका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

 

कार्यक्रममा केन्द्रीय सदस्यहरू शान्ति तामाङ, हीरामान बल, मिङ्मा तामाङलगायतले आफ्नो भनाई राखेका थिए।