होमपेज » पत्रपत्रिका » सामाजिक सञ्जाल विज्ञापनको डलर भुक्तानी नेपालबाटै

सामाजिक सञ्जाल विज्ञापनको डलर भुक्तानी नेपालबाटै

बुधबार, १८ चैत्र २०७७, २३:५६

फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमा विज्ञापनबापतको भुक्तानी औपचारिक माध्यमबाट अमेरिकी डलरमै गर्न पाइने भएको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको छ ।

यस्तो व्यवस्था कार्यान्वयनका लागि निर्देशन जारी हुन भने बाँकी छ । निर्देशन जारी भएपछि अमेरिकी डलरको खाता नहुने सर्वसाधारणले पनि नेपालबाटै डलरमा विदेशमा भुक्तानी गर्न पाउनेछन् ।

‘बैंक तथा वित्तीय संस्था एवं विप्रेषण सेवा प्रदायक कम्पनीले विद्युतीय माध्यमबाट नेपालमा विप्रेषण भित्र्याउन सक्ने र नेपालमा भुक्तानी सेवा प्रदायक संस्थाबाट विद्युतीय भुक्तानी उपकरण ९मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड, वालेट आदि० मार्फत स्वदेशी मुद्रामा भुक्तानी प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ,’ मौद्रिक नीतको समीक्षामा भनिएको छ ।

राष्ट्र बैंकले झन्डै एक वर्ष ९गत माघ १७० देखि सामाजिक सञ्जालमा हुने विज्ञापनको अनौपचारिक भुक्तानी रोकेको थियो । तर त्यसका लागि कार्यविधि बनाइएको थिएन । कार्यविधि नहुँदा सामाजिक सञ्जालमा हुने विज्ञापनलगायत सबै प्रकारका भुक्तानी प्रभावित भएका थिए । अनौपचारिक रूपमा हुने भुक्तानी पनि रोकिएको थिएन । चोरी बाटोबाटै पैसा बाहिरिरहेको थियो । अब ती कारोबार पनि बैंकिङ प्रणालीमा समेटिने जानकारहरूको भनाइ छ ।

नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि डलरमा हुने ससाना भुक्तानीमा सजिलो हुने कम्प्युटर एसोसिएसन नेपाल ९क्यान महासंघ० का पूर्वअध्यक्ष विनोद ढकालले बताए । ‘यो साह्रै राम्रो काम हो । तर छिटो कार्यान्वयनमा आउनुपर्‍यो,’ उनले भने, ‘यो व्यवस्थाले ससाना कारोबार पनि औपचारिक प्रणालीमा समावेश हुनेछन् ।’ भुक्तानी औपचारिक प्रणालीमार्फत गर्न तयार भए पनि विधि र प्रक्रिया स्पष्ट नहुँदा अन्योल थियो । अब उक्त समस्या समाधान हुने उनले बताए । सामाजिक सञ्जालमा हुने भुक्तानी मात्र नभई कानुनले वञ्चित नगरेका सबै प्रकारका भुक्तानी डलरमा गर्न पाउने व्यवस्था पनि राष्ट्र बैंकले गर्न लागेको छ । यसअनुसार नेपालमा भुक्तानी सेवा प्रदायक संस्थाबाट विद्युतीय भुक्तानी उपकरण ९मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड, वालेट आदि० मार्फत स्वदेशी मुद्रामा भुक्तानी प्रदान गर्न सकिनेछ ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि सर्वसाधारणले वाणिज्य बैंकमा गएर डलरको प्रिपेड कार्ड लिन सक्नेछन् । सोही कार्डमार्फत राष्ट्र बैंकले तोकेको सीमासम्म विदेशमा डलरमा भुक्तानी गर्न सक्नेछन् । प्रिपेड कार्डका लागि बैंकमा डलर खाता हुनुपर्ने छैन । हाल नियमित रूपमा डलरको स्रोत भएकाले मात्र बैंकमा अमेरिकी डलर ९विदेशी मुद्रामा० को खाता खोल्न पाउने व्यवस्था छ ।

सर्वसाधारणलाई उपभोग्य वस्तुको भुक्तानी डलरमा गर्न नदिने राष्ट्र बैंकको तयारी छ । तर सामाजिक सञ्जालमा विज्ञापन गर्न, मनोरञ्जनात्मक साइट हेर्न, प्राविधिक सामग्री खरिद गर्नलगायतको भुक्तानी गर्न पाइनेछ । ‘मुलुकमा पर्याप्त विदेशी मुद्रा सञ्चिति छ,’ राष्ट्र बैंक विदेशी विनिमय विभाग प्रमुख बमबहादुर मिश्रले भने, ‘यसकारण पनि उपभोक्तालाई डलरमै ससानो भुक्तानी सुविधा दिन लागेका हौं ।’