कोरोना महामारीपछि कोरोना बीमा गरेका बीमितले लामो समयसम्म पनि दाबी भुक्तानी पाएका छैनन् । कोरोना बीमा मापदण्ड अनुसार सरकारले आफ्नो दायत्विमा पर्न आउने रकम निकास नगर्दा करिब साढे दुई वर्ष देखि बीमितहरुले भुक्तानी रकम नपाएका हुन् । कोरोना महामारीपछि सरकारले नागरिकको स्वास्थ्य उपचारमा आर्थिक अभावका कारण समस्या झेल्नु नपरोस् भन्दै बीमा प्रणालीको सुरुवात ग–यो ।कोरोना बीमा सहजै गर्न सकिएपनि बिमितले अझैसम्म पनि दाबी भुक्तानी पाउन सकेका छैनन् । सरकारले नागरीकलाई स्वास्थ्य क्षेत्रमा दिएको सुविधा नाममा मात्र सिमित भएको छ ।
कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँ, बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट ५० करोड रुपैयाँ र बीमा समितिको तर्फबाट एक अर्ब रुपैयाँ भुक्तानी गर्ने व्यवस्था छ । त्यस भन्दा बढी दाबी परेमा सम्पुर्ण रकम सरकारले भुक्तानी गर्ने मापदण्डमा उल्लेख छ । मापदण्ड अनुसार निर्जीवन बीमा कम्पनीहरु,नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट गरी कुल ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकेका छन् । तर सरकारको दायित्वमा पर्न आउने रकम भने अहिलेसम्म निकास गरेको छैन् ।सरकारको दायित्वमा पर्न आउने रकम निकास नहुँदा बीमितहरुले बर्षौ देखि दाबी भुक्तानी रकम नपाएका हुन् ।
कोरोनाकालमा कोरोना बिमा गरेका बिमित राज्यबाटै ठगिएका छन् । कोरोना महामारीको समयमा बिमा समितिले सामाजिक उत्तरदायित्वका नाममा कोरोना बिमा पोलिसी सञ्चालनमा ल्याएको थियो । बिमितलाई कोरोना भएको प्रमाणित भएको छोटो समयमा रकम भुक्तानी हुने भनिए पनि अझै दाबी रकम भुक्तानी भएको छैन । विभिन्न बिमा कम्पनीमार्फत बिमा गरेको करिब ७० प्रतिशत बिमितले दाबी रकम पाएका छैनन् । कोरोना बीमा भुक्तानीका लागि मान्यता प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको रिपोर्टसहित दाबी गरेमा भुक्तानी दिने प्रावधान थियो ।त्यसमा कोरोना बीमा गर्नेले १ लाख पाउने उल्लेख छ । तर, बिमा गरेको ४ बर्ष बितिसक्दा पनि रकम बिमितको हात पर्न सकेको छैन । कोरोना बिमा मात्र नभएर सरकारले दिएका कतिपय सेवा सुबिधाका नाममा नागरिकले सास्ती मात्र खेपिरहेको विमितले गुनासो गरेका छन् । बीमा समितिको पछिल्लो तथ्यांक अनुसार १४ अर्ब ९३ करोड ६६ लाख ८९२ रुपैयाँ कोरोना बीमा वापत दाबी परेको छ । त्यस मध्ये ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । कुल दाबी रमक मध्ये ७६.५९ प्रतिशत अर्थात ११ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ सरकारले भुक्तानी गर्नुपर्ने देखिन्छ ।
कोरोना बिमा रकम भुक्तानीका लागी २०७७ जेठमा बिमा समिति, बिमा कम्पनी, पुर्नबिमा कम्पनी र सरकारबीच सहमति भएको थियो । सहमति अनुसार कुल दाबी रकम मध्ये १ अर्ब बिमा कम्पनीहरूले भुक्तानी गर्नुपर्ने, १ अर्बदेखि २ अर्ब नेपाल पुर्नबिमा कम्पनीले, २ अर्बदेखि साढे २ अर्ब रुपैया बिमा कम्पनीहरूले भुक्तानी गर्ने सहमति भएको थियो । साथै साढे २ अर्बदेखि साढे ३ अर्ब रुपैयाँ बिमा समिति र साढे ३ अर्ब रुपैयाँभन्दा माथिको दाबी भुक्तानी सरकारले बेहोर्ने सहमति भएको थियो । सरकारले आफ्नो हिस्सामा परेको रकमको जिम्मा नलिदा रकम भुक्तानीको काम ढिलाई भएको हो । रकम भुक्तानीका लागी सरकारले सहजिकरण गरेको खण्डमा बीमा रकम छिटै भुक्तानी गर्ने बीमा समितिको भनाई छ । कोरोना बिमा लेख अन्तर्गत १७ लाख ५८ हजार ३ सय ४३ जनाले कोरोना बिमा गरेका थिए ।
बिमा गरेकामध्ये १ लाख ६२ हजार ३ सय ४६ जनाले बिमा भुक्तानी दाबी गरे पनि अहिलेसम्मसत्र हजारले मात्र रकम पाएका छन् । कोरोना बीमा भुक्तानीमा ढिलाइ भएकाले बीमा समितिले पटक पटक सरकारसंग कोरोना बीमा रकम भुक्तानीका लागि ताकेता गर्दै आएको जनाएको छ ।










