होमपेज » खेलकुद » किर्गिस्तान र आर्मीबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरी

किर्गिस्तान र आर्मीबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरी

बिहीबार, १९ चैत्र २०७७, ००:१७

त्रिभुवन आर्मी फुटबल क्लब र किर्गिस्तानको यु-२३ टोलीबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु-२३ टोलीले निर्धारित समयमा गोल गर्न सकेनन् ।

त्रिदेशीय फुटबल प्रतियोगिता खेल्न नेपाल आएको किर्गिस्तानको यु-२३ टोलीले आर्मी क्लबसित मैत्रीपूर्ण खेल खेलेको हो । दुवै टोलीबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । दुवै टोलीले गोल गर्ने मौका पाए पनि सफल भने हुन सकेनन् ।

खेलको पहिलो मिनेटमा नै आर्मीका नवयुग श्रेष्ठले गोलपोष्टमा हानेको बल किर्गिस्तानका गोलकिपर प्रिएदकिन अर्तेमले रोके । यस्तै खेलको २६औं मिनेटमा किर्गिस्तानका तर्फबाट अभिलोभ अर्नाजले गोल गर्ने उत्कृष्ट मौका गुमाए । मध्यान्तरअघिको खेल सकिनै लाग्दा आर्मीका विवेक बस्नेतले गोल गर्ने प्रयास गरेको तर उनी गोल गर्नबाट चुके ।

यसैगरी खेलको ७३औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठ गोल गर्नबाट वञ्चित भए । यस्तै किर्गिस्तानले खेलको ८६औं मिनेटमा गोल गर्ने मौका पाएको थियो । उक्त प्रयास पनि असफल भए । मध्यान्तरपछिको खेलमा पनि दुवै टोलीबाट गोलका प्रयास भएका थिए । किर्गिस्तान त्रिदेशीय प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा किर्गिस्तान बंगलादेशसँग १-० गोलअन्तरले पराजित भएको थियो ।

आफ्नै खेलाडीले आत्मघाती गोल गरेपछि किर्गिस्तान पराजित हुन पुगेको हो । नेपालले किर्गिस्तान र बंगलादेशसित गोलरहित बराबरी खेलेको थियो । नेपालले अब सोमबार बंगलादेशसँग दशरथ रंगशालामा फाइनल खेल खेल्ने छ । उक्त खेल साँझ ५ बजेर ३० मिनेटमा शुरु हुने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।