खिचडी एक स्वादिष्ट परिकार । चामल, दाल र अन्य खाद्यन्नको समिश्रणबाट बन्ने परिकार । यदाकदा जाउलो नामले सम्बोधित भए पनि वास्तविक नाम खिचडी नै हो । खाद्यन्नहरुको असन्तुलित मिश्रणबाट बन्छ यो । एउटा चीजसँग अर्काे चीजको समिश्रण खासै वैज्ञानिक नाप जोख र तालमेलमा हुँदैन । पाकिसकेपछि समिश्रित चिजहरुको अलगअलग अस्तित्व नदेखिने तर सामूहिक, भिन्न र विशेष स्वाद भेटिने खिचडीको मूलभूत विशेषता हो । विशेष स्वादकै कारण खिचडी खानेको जिभ्रोमा यसको स्वाद झुन्डिएको हुँदो हो ।
तर, खिचडी बिग्रियो वा कुहियो भने त्यो के हुन्छ ? हामी सबैलाई थाहा नै छ । बिग्रिएको वा कुहिएको खिचडी झुक्किएर मुखमा पर्यो मात्र भने पनि त्यसले छेरपटी त चलाउँछ नै घाट पुर्याउन बेर लगाउँदैन । नेपाली राजनीतिमा खिचडी पकाउन र पाक्न थालेको लामै समय बितिसक्दा पनि यो आम सोशित, उत्पीडित जनता, जाति, समुदायका मुक्तिका खातिर मौलिक नेपाली राजनीति बन्न नसक्दा यो बिग्रिएको खिचडी झैं बनेको छ ।
खिचडी पाक्ने भान्सा, पकाउने भान्से, यसमा मिश्रित सामाग्रीहरु र भान्सेको पाककला ज्ञान थाहा पाउनले नेपाली राजनीतिक खिचडी सम्पूर्ण नेपाली जनताका लागि स्वादिष्ट र स्वस्थ्यवद्र्धक किन पाक्न सकेन भन्ने अहँ प्रश्नको जवाफ पाउन सकिन्छ । त्यसैले नै सबैका रुचिकर, स्वादिष्ट र मिष्ठान्न खिचडी तयार हुने हो ।










