होमपेज » हेडलाइन » रास्वपाको ऐतिहासिक जनमत, शिक्षा क्षेत्रको आमूल सुधारदेखि ‘राइट टु रिकल’ सम्म रविको नयाँ ‘रोडम्याप’

रास्वपाको ऐतिहासिक जनमत, शिक्षा क्षेत्रको आमूल सुधारदेखि ‘राइट टु रिकल’ सम्म रविको नयाँ ‘रोडम्याप’

दिनेश थापा
शुक्रबार, ६ चैत्र २०८२, १५:३२

हालै सम्पन्न आमनिर्वाचनको परिणामले नेपाली राजनीतिको परम्परागत शक्ति सन्तुलनलाई भत्काउँदै गहिरो संरचनात्मक परिवर्तनको स्पष्ट सङ्केत दिएको छ । विशेषगरी, स्थापनाको छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको ऐतिहासिक जनसमर्थनले मुलुकमा पुस्तान्तरण, राजनीतिक संस्कार परिवर्तन र नयाँ आशाको उदयलाई एकसाथ उजागर गरेको छ । यसलाई कतिपय राजनीतिक विश्लेषकहरूले ‘राजनीतिक भूकम्प’ को संज्ञा दिएका छन् भने कतिपयले दशकौँ लामो जनअसन्तुष्टि र कुशासनविरुद्धको शान्तिपूर्ण विद्रोहका रूपमा व्याख्या गरेका छन् ।

 

परम्परागत शक्तिको स्खलन र नयाँको उदय

निर्वाचन आयोगको अन्तिम तथ्याङ्कअनुसार, संसद्को कूल २७५ सिटमध्ये रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कूल १८२ सिटमा सानदार जित हासिल गरेको छ । यो सङ्ख्या दुई तिहाइ बहुमत (१८४ सिट) भन्दा जम्मा दुई सिटले मात्र कम हो । अर्कोतर्फ, दशकौँसम्म सत्ताको केन्द्रमा रहेका नेपाली कांग्रेस ३८ सिट र नेकपा एमाले २५ सिटमा खुम्चिन पुगेका छन् ।

 

रास्वपाले प्रत्यक्षतर्फ मात्रै नभई समानुपातिकतर्फ पनि ऐतिहासिक ‘पपुलर भोट’ (लोकप्रिय मत) सङ्कलन गरेको छ । खसेको कुल सदर मतमध्ये रास्वपाले करिब ४२ प्रतिशत मत आफ्नो पोल्टामा पारेको छ, जुन नेपालको लोकतान्त्रिक इतिहासमै कुनै पनि नयाँ दलले प्राप्त गरेको अहिलेसम्मकै उच्च मत प्रतिशत हो । सहरी क्षेत्रमा मात्र नभई यसपटक ग्रामीण भेगका मतदाताले पनि रास्वपाको चुनाव चिह्न ‘घण्टी’ मा व्यापक मतदान गरेका छन् ।

 

आक्रामक रविको संयमित अवतार

यही राजनीतिक उथलपुथल र ऐतिहासिक विजयको परिवेशमा पार्टीका सभापति रवि लामिछानेको पछिल्लो सार्वजनिक अभिव्यक्ति र बदलिएको कार्यशैलीले राजनीतिक वृत्तमा थप चर्चा परिचर्चा जन्माएको छ । निर्वाचनपछिको पहिलो औपचारिक सार्वजनिक सम्बोधनमा सभापति लामिछाने विगतको भन्दा निकै संयमित, परिपक्व र गम्भीर देखिए । टेलिभिजनको पर्दामा वा सडक आन्दोलनमा देखिने आक्रामक रविको साटो उनी जिम्मेवार राजनेताको रूपमा प्रस्तुत भए ।

उनको शारीरिक भाषा र अभिव्यक्तिमा ‘फलेको हाँगो निहुरिन्छ’ भन्ने नेपाली उखानको झल्को स्पष्ट देखिन्थ्यो । उनले निकै अर्थपूर्ण रूपमा भने— इतिहास तपाईंहरूले लेख्नुभयो, अब भविष्य हामी लेख्छौं ।” यो भनाइले पुराना राजनीतिक दलप्रतिको सम्मान र नयाँ पुस्ताप्रतिको आत्मविश्वास दुवै सन्देश एकैपटक प्रवाह गरेको छ । यसले उनी अब एउटा आन्दोलनकारीबाट माथि उठेर सिङ्गो राष्ट्रलाई नेतृत्व गर्न सक्ने सुझबुझपूर्ण ‘स्टेट्सम्यान’ बन्ने बाटोमा अग्रसर भएको सङ्केत गर्छ ।

 

संसदीय अभ्यासमा नयाँ प्रयोग

रास्वपाले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा लामिछानेले पार्टी अनुशासन र जनउत्तरदायित्वको स्पष्ट लक्ष्मणरेखा कोरेका छन् । नेपाली राजनीतिमा सांसदहरू चुनाव जितेपछि पाँच वर्षसम्म जनताबाट पूर्ण रूपले कट्ने र हराउने आम प्रवृत्ति रही आएको छ । यसलाई तोड्न उनले कडा चेतावनी दिँदै भनेका छन्— यदि कुनै सांसदले जनताको अपेक्षा पूरा गर्न नसके, सस्तो लोकप्रियतामा रमाए वा व्यक्तिगत स्वार्थमा केन्द्रित भए भने पार्टी विधानअनुसार राइट टु रिकल’ (फिर्ता बोलाउने अधिकार) लागू गरिनेछ । यो चेतावनीलाई केवल आन्तरिक नियन्त्रणको उपाय मात्र नभई नेपाली संसदीय अभ्यासमा एउटा नयाँ र क्रान्तिकारी प्रयोगको थालनीका रूपमा हेरिएको छ ।

 

विज्ञता र शिक्षा क्षेत्रको सुधारलाई उच्च प्राथमिकता

सरकारको नेतृत्व पार्टी सभापति रवि लामिछानेले गर्ने पक्कापक्की जस्तै हुँदा, अबको मन्त्रिमण्डल कस्तो बन्ला भन्ने आम चासो छ । प्राप्त सङ्केतहरूका अनुसार रास्वपाले परम्परागत भागबन्डाको राजनीतिलाई पन्छाउँदै सम्बन्धित मन्त्रालयको नेतृत्वमा ‘विषयविज्ञ’ (Subject Matter Experts) सांसदहरूलाई पठाउने तयारी गरेको छ ।

 

विशेषगरी, नयाँ सरकारको सबैभन्दा ठूलो प्राथमिकता र चासोको विषय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय हुने देखिएको छ । रास्वपाको चुनावी घोषणापत्रमा उल्लेखित शिक्षा क्षेत्रका वाचाहरूले जनमानसमा गहिरो प्रभाव पारेको छ । सार्वजनिक विद्यालयहरूको स्तरोन्नति, शिक्षकहरूको दलीय राजनीतिकरणको पूर्ण अन्त्य, विद्यालय तहदेखि नै प्राविधिक तथा व्यावहारिक शिक्षाको विस्तार र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने नीतिलाई कार्यान्वयन गर्न पार्टी कटिबद्ध देखिएको छ । यस मन्त्रालयको नेतृत्वमा कुनै अनुभवी शिक्षाविद् वा प्राज्ञिक पृष्ठभूमि भएका सांसदलाई पठाउने बलियो सम्भावना छ, जसले शिक्षा क्षेत्रको आमूल परिवर्तनको खाका कोर्न सकुन् ।

 

यसका साथै, सुशासन र भ्रष्टाचार नियन्त्रणको मुख्य एजेन्डा बोकेको पार्टीले गृह मन्त्रालय आफ्नै नेतृत्वमा राख्नेछ भने थला परेको अर्थतन्त्र उकास्न अर्थ मन्त्रालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्र बुझेका विज्ञ सांसदलाई जिम्मेवारी दिने तयारी छ ।

 

समावेशी विकास र लगानीकर्तालाई आश्वस्त पार्ने प्रयास

आर्थिक नीति र विकासको मोडलका सन्दर्भमा पनि रास्वपा सभापतिले स्पष्ट दृष्टिकोण अघि सारेका छन् । लामिछानेले केन्द्रित विकास मोडलप्रति कडा असन्तुष्टि व्यक्त गर्दै समावेशी विकासको नयाँ ढाँचा अपनाउने सङ्केत दिएका छन् । उनले स्पष्ट रूपमा भनेका छन्— अब सुदूरपश्चिम, मधेश र कर्णालीलाई उपेक्षित राख्न पाइने छैन ।

 

यस्तै, पुँजीबजार, स्वदेशी उद्योगी र विदेशी लगानीकर्ताहरूको अन्योलता चिर्दै उनले भनेका छन्— नेपालमा विद्यमान कानुन र नीति नै लगानी सुरक्षाका लागि पर्याप्त छन्, त्यसैले अब कानुनबमोजिम काम गर्न कसैलाई ‘रिझाउन’ वा बिचौलियाको सहारा लिन आवश्यक छैन ।” अर्थतन्त्र सुधारका लागि यो एउटा निकै सकारात्मक र जिम्मेवार दृष्टिकोण हो ।

 

संविधानको रक्षा र पुराना दलप्रतिको सम्मान

संसद्मा दुई तिहाइ नजिकको विशाल जनमत पाएपछि कुनै पनि राजनीतिक शक्तिमा शक्ति केन्द्रीकरण गर्ने वा संविधानका आधारभूत संरचनामै हेरफेर गर्ने आशङ्का उत्पन्न हुनु स्वाभाविक हो । तर, लामिछानेले यस्ता सम्पूर्ण आशङ्काहरूलाई खारेज गर्दै भनेका छन्, “रास्वपा संविधान र लोकतान्त्रिक मूल्य–मान्यताप्रति पूर्ण प्रतिबद्ध छ । नयाँ अनुहार आयो भनेर लोकतन्त्र खतरामा पर्छ भन्ने सोच सर्वथा गलत हो ।” यसका साथै, नेपालको वर्तमान राजनीतिक संरचना निर्माणमा पुराना दलहरूको ऐतिहासिक योगदान रहेको यथार्थलाई उनले खुला रूपमा स्वीकार गर्दै सहअस्तित्वको सन्देश दिएका छन् ।

 

अब सुरु भयो असली परीक्षा

रास्वपाको यो अभूतपूर्व उदयसँगै नेपाली समाजमा यतिबेला मिश्रित प्रतिक्रियाहरू उत्पन्न भएका छन् । एकातिर आम नागरिकमा देश बन्ने ठूलो आशा छ भने अर्कोतिर पुराना राजनीतिक वृत्तमा सतर्कता छ । रास्वपाले प्राप्त गरेको यो जनमत केवल एउटा राजनीतिक सफलता मात्र पक्कै होइन; यो एक अत्यन्तै भारी जिम्मेवारी हो ।

 

सभापति रवि लामिछानेको पछिल्लो अभिव्यक्तिले उनी अब केवल सडकका आन्दोलनकारी नेता नभई सिंहदरबारबाट कुशल शासन सञ्चालन गर्न तयार राजनीतिक नेतृत्वको भूमिकामा प्रवेश गरिसकेको स्पष्ट सङ्केत दिएको छ । अब सिङ्गो देशको नजर एउटै प्रश्नमा केन्द्रित छ— के रास्वपा साँच्चिकै नेपालमा सुशासन, गुणस्तरीय शिक्षा, आर्थिक विकास र नयाँ राजनीतिक संस्कार स्थापित गर्न सफल होला ? आगामी दिनमा रास्वपा नेतृत्वको सरकारले गर्ने निर्णय र जनताप्रतिको डेलिभरीले नै यसको वास्तविक जवाफ दिनेछ ।