काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ करोड ६४ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत भएको छ। सूचीकृत कम्पनीहरूले वितरण गरेको बोनस शेयर समायोजनपछि उक्त परिमाणको शेयर बजारमा थपिएको हो।
नेप्सेका अनुसार लक्ष्मी सनराइज बैंक र जीवन विकास लघुवित्त वित्तीय संस्था को कुल २ करोड ६४ लाख ९७ हजार १५२.३९ कित्ता बोनस शेयर सूचीकृत गरिएको हो। यसमध्ये लक्ष्मी सनराइज बैंकको २ करोड ४३ लाख ४६ हजार ५१२.२३ कित्ता र जीवन विकास लघुवित्तको २१ लाख ५० हजार ६४०.१६ कित्ता शेयर रहेको छ।
यी शेयरहरू अघिल्लो आर्थिक वर्षको नाफाबाट सम्बन्धित कम्पनीहरूले आफ्ना शेयरधनीलाई वितरण गरेको बोनस शेयरका रूपमा सूचीकृत भएका हुन्। लक्ष्मी सनराइज बैंकले १० प्रतिशत तथा जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।
बोनस शेयर सूचीकृत भएसँगै सम्बन्धित कम्पनीहरूको चुक्ता पूँजी वृद्धि हुनुका साथै दोस्रो बजारमा कारोबारयोग्य शेयर संख्या समेत बढेको छ। यसले बजारमा तरलता विस्तारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।