काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा देशभर वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन गरी सम्पन्न गरेको छ। चैत २ गतेदेखि चैत ८ गतेसम्म साताव्यापी रूपमा सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत बैंकले वित्तीय पहुँचबाट बाहिर रहेका लक्षित वर्गहरू पहिचान गरी विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ।
बैंकका अनुसार दरबारमार्ग, हेटौंडा, इटहरी, भैरहवा, विजयपुर–पोखरा, वीरगञ्ज, धनगढी, सूर्यपुरा, डडेलधुरा, लाहान, बिचबजार, मंगलसेन र चिप्लेढुङ्गा लगायतका शाखा कार्यालयहरू तथा प्रादेशिक कार्यालयमार्फत विद्यार्थी तथा युवामाझ वित्तीय ज्ञान, सीप र सकारात्मक व्यवहार विकास गर्ने उद्देश्यले साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो।
“स्मार्ट मनी टक्स” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमहरूमा एक हजारभन्दा बढीको सहभागिता रहेको बैंकले जनाएको छ। कार्यक्रममा बचत, कर्जा, लगानी, सफा नोटको प्रयोग, विद्युतीय वित्तीय सेवा, विप्रेषण, गुनासो व्यवस्थापन, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी तथा वित्तीय अनुशासन सम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो।
यसै क्रममा नेपाल राष्ट्र बैंकलगायतका विभिन्न संस्थाहरूले आयोजना गरेका वित्तीय साक्षरता कार्यक्रम तथा प्रभातफेरीमा पनि बैंकले सक्रिय सहभागिता जनाएको छ।
ग्लोबल मनी विककै अवसरमा बैंकको नेपालगञ्ज शाखाले बाँकेको श्री युद्ध संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। साथै बैंकले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत वित्तीय सचेतनामूलक सामग्री तथा भिडियोहरू सार्वजनिक गर्दै अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ।
किशोर–किशोरी तथा युवामाझ वित्तीय शिक्षाको महत्वबारे सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। “सबल बैंक, सफल सहकार्य” भन्ने नारासहित विगत ३१ वर्षदेखि सेवा दिँदै आएको बैंकका देशभर १०३ शाखा कार्यालय सञ्चालनमा रहेका छन्। बैंकले हाल करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।










