चितवन राष्ट्रिय निकुञ्जले आधुनिक प्रविधि र तालिमप्राप्त कुकुरको सहयोगमा सुरक्षा व्यवस्था सुदृढ पारेको छ। नियमित गस्ती, स्वीप र एम्बुसिङ्गसँगै प्रविधिको प्रयोगले वन्यजन्तु चोरीसिकारी नियन्त्रणमा उल्लेखनीय सफलता दिलाएको छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार, निकुञ्जमा लामो, मध्यम र छोटो दूरीको गस्ती नियमित रूपमा सञ्चालन भइरहेको छ। यसका साथै सुराकी परिचालन र संयुक्त अनुसन्धान सेलसमेत सक्रिय छन्। सुरक्षा मजबुत बनाउन हाल चार वटा तालिमप्राप्त कुकुर परिचालनमा रहेका छन्।
निकुञ्ज प्रशासनले रियल टाइम मनिटरिङ, सीसीटीभी क्यामेरा, ड्रोन, भेइकल ट्र्याकिङ रेकर्ड प्रणाली जस्ता प्रविधिको प्रयोग गर्दै आएको छ। यससँगै पैदल, साइकल, हात्ती, डुङ्गा तथा सवारीसाधनबाट गस्ती गरिँदै आएको छ।
थापामगरका अनुसार प्रविधिको प्रयोगले चोरीसिकारी नियन्त्रणमा मात्र होइन, वन्यजन्तु सम्बन्धी अपराधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न पनि सहयोग पुगेको छ। विभिन्न वन्यजन्तुको अखेटोपहारसहित हिँडिरहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिन समेत सहज भएको छ।
उनले वन्यजन्तु संरक्षणमा प्रविधिको प्रयोगसँगै साझेदार संस्थाहरूको ठूलो योगदान रहेको बताए। स्थानीय स्तरमा परिचालन हुने युवा समिति, नेपाली सेना र निकुञ्जका कर्मचारीहरूको अथक प्रयासले पनि चोरीसिकारी न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे।