महोत्तरी । आस्था, निष्ठा र सूर्य उपासनाको महापर्व चैती छठको रौनक अहिले महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा छाएको छ। चार दिनसम्म चल्ने यस धार्मिक उत्सवको तेस्रो तथा मुख्य दिन आज (षष्ठी तिथि) साँझ व्रतालुहरूले विभिन्न जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदैछन्।
छठ घाटमा उल्लास र पूजा सामग्रीको तयारी छठ पूजाका लागि तराई-मधेशका नदी, पोखरी र नहर किनारहरूलाई बेहुलीझैँ सिँगारिएको छ। आज साँझ व्रतालुहरूले आफ्नै घरमा परम्परागत ढिकी-जाँतोमा कुटानी-पिसानी गरी तयार पारिएको गहुँ र चामलको पिठोबाट ठकुवा, भुसुवा, खजुरिया जस्ता स्वादिष्ट परिकारहरू लिएर घाटमा पुग्नेछन्।
यसका साथै मुला, गाजर, बेसारको गाँठो, नरिवल, सुन्तला, केरा र भोगटे जस्ता कृषि उपज तथा फलफूलहरूलाई बाँसका आकर्षक ढाक्की, कोनिया र नाङ्लोमा सजाएर छठी मातालाई अर्पण गर्ने चलन छ। परिवारका सदस्यहरू मिलेर परम्परागत लोकगीत गाउँदै घाटसम्म पुग्ने दृश्यले अहिले मिथिला क्षेत्रको माहोललाई निकै भक्तिमय बनाएको छ। पानीमा पसेर दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अस्ताचलगामी सूर्यलाई पालोपालो अर्घ्य दिइन्छ।
यस्तो छ चार दिने अनुष्ठान गत आइतबार ‘नहाय-खाय’ (नुहाएर चोखो खाने) विधिबाट सुरु भएको यो व्रत सोमबार ‘खरना’ सँगै दोस्रो चरणमा प्रवेश गरेको थियो। खरनाको दिन व्रतालुहरूले दिनभर निराहार उपवास बसेर राति कुलदेवता र छठी माताको पूजा गरी बिना नुनको प्रसाद (अरवा अरबाइन) ग्रहण गरेका थिए।
आज साँझ अस्ताउँदो सूर्यको उपासना गरेपछि, भोलि (बुधबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको चैती छठ विधिवत रूपमा समापन हुनेछ। पौराणिक मान्यता र सामाजिक सद्भाव यो संसारकै यस्तो अद्वितीय पर्व हो, जहाँ उदाउँदो मात्र नभई अस्ताउँदो सूर्यको पनि उत्तिकै श्रद्धाका साथ पूजा गरिन्छ। पण्डितहरूका अनुसार, यो पर्वले सत्य, अहिंसा र सबै प्राणीप्रति दया भाव राख्न प्रेरित गर्दछ।
पौराणिक मान्यता अनुसार, महाभारत कालमा पाण्डवहरूले आफ्नो अज्ञातवास सफल बनाउन सूर्यदेवको आराधना गरेका थिए। त्यस्तै, सूर्य पुराण अनुसार माता अनुसूयाले अखण्ड सौभाग्य र पारिवारिक प्रेम प्राप्तिका लागि यो व्रत लिएदेखि नै छठ पर्वको सुरुवात भएको विश्वास गरिन्छ।
धार्मिक सहिष्णुताको अनुपम उदाहरण बनेको यस पर्वलाई हिन्दू र मुस्लिम समुदायले आपसी सद्भावका साथ मनाउने गर्दछन्। राष्ट्रिय स्वरूप ग्रहण गर्दै छठ कुनै समय महोत्तरीका जलेश्वर, मटिहानी, गौशाला, बर्दिवास लगायत तराई-मधेशमा मात्र सीमित यो पर्व अहिले देशव्यापी बन्दै गएको छ। अहिले संघीय राजधानी काठमाडौँसहित पोखरा, नारायणगढ, धरान र इटहरी जस्ता प्रमुख सहरहरूमा पनि निकै उत्साह र श्रद्धापूर्वक चैती छठ मनाउन थालिएको छ। आज छठ घाटहरूमा व्रत बस्नेहरूका साथै पूजा हेर्न र आशीर्वाद लिन आउने श्रद्धालुहरूको पनि ठूलो घुइँचो लाग्ने गर्दछ।










