काठमाडौं । Everest Bank Limited ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा घटे पनि वितरणयोग्य मुनाफामा भने उल्लेखनीय वृद्धि देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा बैंकको खुद नाफा ३.८२ प्रतिशतले घटेको देखिन्छ।
तर, समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने बढेर ४ अर्ब ४ करोड ८५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो मुनाफा ३ अर्ब ६७ करोड ८७ लाख रुपैयाँ रहेको थियो। यसरी वितरणयोग्य मुनाफा १०.०५ प्रतिशतले वृद्धि भएको छ।
बैंकको सञ्चालन मुनाफा पनि घटेको छ। चैत मसान्तसम्म सञ्चालन मुनाफा ४ अर्ब ९० करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको ५ अर्ब ८ करोड ३३ लाख रुपैयाँको तुलनामा ३.५३ प्रतिशतले कम हो।
यस अवधिमा बैंकको ब्याज आम्दानी भने सामान्य वृद्धि देखिएको छ। बैंकले ६ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ६ अर्ब ७४ करोड ३९ लाख रुपैयाँको तुलनामा १.३३ प्रतिशतले बढी हो।
चुक्तापुँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ रहेको बैंकको शेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४ अर्ब ४ करोड ८५ लाख रुपैयाँ तथा रिजर्भमा १५ अर्ब ५० करोड ८८ लाख रुपैयाँ रहेको छ।
व्यवसाय विस्तारतर्फ बैंकले उल्लेखनीय प्रगति गरेको देखिन्छ। चैतसम्म बैंकले ३ खर्ब २ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५० अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
बैंकको खराब कर्जा अनुपात (एनपीएल) सुधार हुँदै ०.६१ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको ०.६४ प्रतिशतभन्दा कम हो। यसैगरी, बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३२.३५ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३५.६१ रुपैयाँ रहेको थियो। बैंकको पी/ई अनुपात २१.५८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४४.२७ रुपैयाँ कायम भएको छ।










