होमपेज » हेडलाइन » क्यान्सर अस्पतालको आवास गृहमा बेथिति: नियम मिचेर बस्ने कर्मचारीद्वारा ‘क्वाटर’ छाड्न अटेर

क्यान्सर अस्पतालको आवास गृहमा बेथिति: नियम मिचेर बस्ने कर्मचारीद्वारा ‘क्वाटर’ छाड्न अटेर

आईतवार, २७ बैशाख २०८३, १६:११

चीन सरकारको सहयोगमा निर्मित भरतपुरस्थित बीपी कोइराला स्मृति क्यान्सर अस्पतालको आवास गृह (क्वाटर) मा बसेका कर्मचारीहरूले नियम विपरीत बसेको पाइएपछि आवास खाली गर्न दिएको निर्देशनलाई अटेर गरेका छन्। अस्पताल प्रशासनले वैशाख १६ गते नै सूचना जारी गरी तत्काल आवास छाड्न भने पनि हालसम्म कसैले पनि कोठा खाली गरेका छैनन् ।

किन खाली गराउन खोज्दैछ प्रशासन ?

अस्पतालको नियमअनुसार अस्पतालबाट २५ किलोमिटरको परिधिभित्र निजी घर भएका कर्मचारीहरूले अस्पतालको सरकारी आवास सुविधा प्रयोग गर्न पाउँदैनन्। तर, आफ्नै घर भएका कैयौँ कर्मचारीहरूले वर्षौँदेखि आवास कब्जा गरेर बसेपछि अस्पतालले यस्तो कदम चालेको हो । अस्पताल प्रशासनका अनुसार आपत्कालीन सेवामा खटिनुपर्ने चिकित्सक, नर्स र प्राविधिक कर्मचारीहरूलाई प्राथमिकताका साथ राख्नुपर्नेमा पहुँचका भरमा अन्य कर्मचारी बस्दा सेवा प्रवाहमा समेत असर परेको छ।

आवासको संरचना र वर्तमान अवस्था

अस्पतालका भण्डार प्रमुख शिला रेग्मीका अनुसार यहाँ सहायक, अधिकृत र चिकित्सकहरूका लागि छुट्टाछुट्टै आवास गृहहरू छन्:

सहायकस्तर आवास: ६० परिवार अट्ने १० वटा भवन छन्। जसमध्ये ३६ वटा कोठामा हाल १८ परिवार बसिरहेका छन् ।

अधिकृतस्तर आवास: १० वटा एकल र १० वटा दुई परिवार बस्न मिल्ने भवनहरू छन् ।

विशेष आवास: ४ परिवार अट्ने ६ वटा घरमध्ये २ वटामा चिनियाँ प्राविधिक र ४ वटामा नेपाली अधिकृत तथा चिकित्सकहरू बस्दै आएका छन् ।

चिनियाँ भवन: चीन सरकारले बनाएका २ वटा भवनमा हाल १८ परिवारको बसोबास छ ।

सूचनाको अवज्ञा

अस्पतालले १६ वैशाखमा जारी गरेको निर्देशनमा ‘तत्काल आवास खाली गर्न’ भनिए पनि दुई हप्ता बितिसक्दा परिणाम शून्य देखिएको छ। नियम विपरीत बस्नेहरूले अटेर गरेपछि अब प्रशासनले कस्तो कडा कदम चाल्छ भन्नेमा सबैको चासो बढेको छ। “हामीले नियम सम्झाउँदै सूचना जारी गरिसक्यौँ, तर हालसम्म कसैले पनि आवास छाडेका छैनन्,” भण्डार प्रमुख रेग्मीले भनिन्। अस्पतालले प्राथमिकताका आधारमा अत्यावश्यक सेवाका कर्मचारीलाई आवास उपलब्ध गराउन खोजे पनि कर्मचारीहरूकै असहयोगका कारण यो प्रक्रिया अन्योलमा परेको छ।