होमपेज » हेडलाइन » नीति तथा कार्यक्रम: नेपाललाई विश्वको आध्यात्मिक केन्द्र बनाउन ‘देवभूमि नेपाल’ अभियान, २०८५ लाई ‘भिजिट नेपाल’ मनाइने

नीति तथा कार्यक्रम: नेपाललाई विश्वको आध्यात्मिक केन्द्र बनाउन ‘देवभूमि नेपाल’ अभियान, २०८५ लाई ‘भिजिट नेपाल’ मनाइने

मंगलवार, २९ बैशाख २०८३, १५:०१

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेपाललाई विश्वकै आध्यात्मिक र साहसिक पर्यटनको केन्द्र बनाउने लक्ष्य लिएको छ। सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको आधुनिकिकरण र ‘ब्रान्डिङ’लाई विशेष जोड दिइएको छ।

‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान

नेपालको विशिष्ट धार्मिक र सांस्कृतिक पहिचानलाई विश्वभर फैलाउन सरकारले ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ। यस अभियानमार्फत नेपाललाई विश्वकै प्रमुख आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गरिनेछ।

डिजिटल पर्यटन र एक द्वार प्रणाली

पर्यटन सेवालाई झन्झटमुक्त बनाउन सरकारले प्रविधिमा आधारित सुधारका योजना ल्याएको छ:

  • अनलाइन भिसा: पर्यटक भिसा सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आबद्ध गरिनेछ।

  • एक द्वार प्रणाली: अध्यागमन विन्दुबाटै पर्यटकीय अनुमति र सेवाहरू एकीकृत रूपमा उपलब्ध गराउन ‘एक द्वार डिजिटल पर्यटन प्रणाली’ लागू गरिनेछ।

  • भिजिट नेपाल २०८५: सरकारले सन् २०२८ (वि.सं. २०८५) लाई ‘भिजिट नेपाल’ वर्षका रूपमा मनाउने घोषणा गरेको छ, जसले पर्यटकको संख्या, बसाइ अवधि र खर्च बढाउने लक्ष्य राखेको छ।

हवाई पूर्वाधार र अन्तर्राष्ट्रिय विमानस्थल

नेपालको हवाई क्षेत्रमा रहेका समस्या समाधान गर्न र अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्ण सञ्चालनका लागि सरकारले निम्न नीति अघि सारेको छ:

  • गौतम बुद्ध (भैरहवा) र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न विशेष कूटनीतिक पहल गरिनेछ।

  • नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार गरी निजी क्षेत्रको सहभागिता बढाइने र सुरक्षा मापदण्डमा कडाइ गरिनेछ।

साहसिक र पदयात्रा पर्यटन

नेपाललाई ‘एडभेन्चर हब’ बनाउन प्याराग्लाइडिङ, बन्जीजम्प र स्काई डाइभिङजस्ता साहसिक गतिविधिलाई प्रवर्द्धन गरिनेछ। साथै, हिमालदेखि तराईसम्म कम्तीमा १० वटा नयाँ पदमार्ग पहिचान गरी सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ।

पर्यटन बोर्डको पुनर्संरचना

नेपाल पर्यटन बोर्डलाई अब सार्वजनिक–निजी साझेदारी (PPP) ढाँचामा पुनर्संरचना गरिने भएको छ। यसलाई थप नवप्रवर्तनशील बनाउँदै कर्णाली, सुदूरपश्चिम, मधेस र कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्यहरूलाई विशेष प्राथमिकता दिइने सरकारको योजना छ।

पर्वतीय पर्यटनको सुरक्षाका लागि आधुनिक प्रविधिमा आधारित खोज तथा उद्धार प्रणाली विकास गर्ने नीतिले पर्वतारोही र पदयात्रीहरूमा सुरक्षाको प्रत्याभूति दिलाउने विश्वास लिइएको छ।