होमपेज » आर्थिक » आज हिमालयन पावर पार्टनरको हकप्रद शेयर भर्ने अन्तिम दिन

आज हिमालयन पावर पार्टनरको हकप्रद शेयर भर्ने अन्तिम दिन

बुधबार, ६ जेष्ठ २०८३, ११:०५

काठमाडौं,  । हिमालयन पावर पार्टनर ले निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने आज जेठ ६ गते अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख १७ गतेदेखि आफ्ना विद्यमान शेयरधनीका लागि हकप्रद शेयर बिक्री खुला गरेको थियो ।

कम्पनीले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अनुपातमा अर्थात १ः०.५ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको छ । हकप्रद निष्कासनबाट कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ ।

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले चैत १० गते बुकक्लोज गरेको थियो । त्यसैले चैत ९ गतेसम्म कायम शेयरधनीले मात्रै उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।

शेयरधनीहरुले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंक का बेसीसहर, दोर्दी, भोटेओडार र उदिपुर शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ । हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।