होमपेज » आर्थिक » दैलेखको ग्यास उत्खनन अन्योलमा, स्थानीय तहद्वारा सरकारको ध्यानाकर्षण

दैलेखको ग्यास उत्खनन अन्योलमा, स्थानीय तहद्वारा सरकारको ध्यानाकर्षण

बुधबार, ६ जेष्ठ २०८३, १२:१२

दैलेख,  । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पुष्टि भएको प्राकृतिक ग्यास उत्खनन कार्य अघि नबढ्दा परियोजना अन्योलमा परेको छ । दोस्रो चरणको मुख्य प्राविधिक काम अघि बढ्न नसक्दा राष्ट्रिय महत्वको यो परियोजना सुस्त बनेको हो ।

प्रारम्भिक अध्ययनअनुसार जलजले क्षेत्रमा ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको पुष्टि भइसकेको छ । चीन सरकारको करिब रु २ अर्ब १७ करोड अनुदान सहयोगमा China Geological Survey ले सन् २०१९ देखि गरेको अध्ययनमा करिब ८० अर्ब घनमिटरभन्दा बढी प्राकृतिक ग्यास भण्डार रहेको अनुमान गरिएको छ । सो परिमाण नेपाललाई करिब ५० देखि ६० वर्षसम्म पुग्ने बताइएको छ ।

खानी तथा भूगर्भ विभागको समन्वयमा चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङसमेत सम्पन्न भइसकेको भए पनि ग्यासको व्यावसायिक उत्पादन र अन्तिम परीक्षणका लागि आवश्यक दोस्रो चरणको काम अघि बढ्न सकेको छैन ।

परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलका अनुसार चीन सरकारलाई थप प्रक्रिया अघि बढाउन अनुरोधपत्र पठाइए पनि स्पष्ट कार्यतालिका नआउँदा काममा ढिलाइ भएको छ ।

यसैबीच, दैलेख र कालिकोटका स्थानीय तह, प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूको जेठ ३ गते महाबुलेक मा बसेको संयुक्त बैठकले ग्यास उत्खनन कार्यलाई तीव्र बनाउन सरकारसँग माग गरेको छ ।

बैठकले जलजले क्षेत्रको पेट्रोलियम पदार्थको वास्तविक क्षमता यकिन गरी परियोजनालाई द्रुत गतिमा अघि बढाउनुपर्ने निर्णय गरेको छ । स्थानीय जनप्रतिनिधिहरूले यो परियोजना दैलेख मात्र नभई समग्र देशको आर्थिक रूपान्तरणसँग जोडिएको भन्दै यसलाई राष्ट्रिय प्राथमिकतामा राखेर अघि बढाउन सरकारसँग आग्रह गरेका छन् ।

उनीहरूले उत्खनन प्रक्रियामा स्थानीय रोजगारी सुनिश्चित गर्नुपर्ने तथा धार्मिक र पर्यटकीय महत्वका क्षेत्रहरूको संरक्षणमा ध्यान दिनुपर्ने पनि बताएका छन् । बैठकले नेपाल, भारत र चीनलाई जोड्ने रणनीतिक महत्त्वको ‘महाबु सडकखण्ड’ विस्तार तथा विकासका विषयमा पनि छलफल गर्दै संघीय तथा प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय गरेको छ । रासस