‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। मंगलबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उहाँलाई थुनामा नराखी तारेखमा राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो। अदालतको उक्त आदेशलगत्तै प्रसाईं रिहा हुनुभएको छ।
गत जेठ ४ गते पर्साको वीरगन्जस्थित दियालो होटेलबाट पक्राउ पर्नुभएका प्रसाईंविरुद्ध सोमबार मात्रै अदालतमा मुद्दा दायर भएको थियो। उहाँमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ र राज्यविरुद्धको कसुरअन्तर्गत हदैसम्मको सजाय मागदाबी गर्दै मुद्दा अघि बढाइएको थियो ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार, प्रसाईंले विभिन्न युट्युब च्यानलमार्फत महिलाहरूमाथि लाञ्छना लगाउँदै अपशब्द प्रयोग गरेको र नेपाली सेना तथा नेपाल प्रहरीलगायतका राज्यका संवेदनशील निकायलाई होच्याएर अश्लील टिप्पणी गरेको आरोप छ। विशेषगरी, सेना र प्रहरीका आईजीपी दानबहादुर कार्कीले सार्वजनिक गरेको एक गीतका विषयमा पनि उहाँले आपत्तिजनक अभिव्यक्ति दिनुभएको दाबी गरिएको छ।
यसका साथै, एक युट्युब अन्तर्वार्ताका क्रममा प्रसाईंले प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क साम्पाङलाई ‘एउटै टिम’ (समूह) ले सञ्चालन गरिरहेको जिकिर गर्नुभएको थियो। सोही अन्तर्वार्तामा उहाँले प्रधानमन्त्री शाह हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको पक्षमा तयार भएमा मात्रै उहाँको तस्बिर आफ्नो घरमा राख्ने विवादास्पद अभिव्यक्तिसमेत दिनुभएको थियो।










