तेहरान । इरानले संयुक्त राज्य अमेरिकामाथि युद्धका क्रममा निहत्था नागरिकलाई लक्षित गर्दै नयाँ हतियार प्रणालीको परीक्षण गरेको गम्भीर आरोप लगाएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सामाजिक सञ्जाल ‘एक्स’ (पहिलेको ट्विटर) मार्फत उक्त घटनालाई लिएर अमेरिकाको कडा आलोचना गर्नुभएको हो।
खेलकुद हलमा आक्रमण प्रवक्ता बघाईका अनुसार, गत फेब्रुअरी २८ तारिखमा अमेरिका र इजरायलसँगको युद्धको सुरुवाती चरणमै इरानको एक खेलकुद हलमा अमेरिकी मिसाइल खसालिएको थियो। उक्त आक्रमणमा परी एक दुई वर्षीया बालिकासहित २४ जना सर्वसाधारणको ज्यान गएको इरानले दाबी गरेको छ।
नयाँ प्रविधिको ‘एयरबर्स्ट मिसाइल’ प्रयोग इरानी पक्षले उक्त आक्रमणमा ‘एयरबर्स्ट मिसाइल’ (Airburst Missile) नामक नयाँ हतियार प्रणाली प्रयोग गरिएको आरोप लगाएको छ। यस प्रकारको मिसाइल विस्फोट हुँदा ‘टंगस्टन’का साना कणहरू उच्च वेगमा जताततै फैलिने गर्छन्, जसले निकै ठूलो क्षेत्रमा व्यापक मानवीय तथा भौतिक क्षति पुर्याउने बताइएको छ।
‘यो सामान्य गल्ती होइन, घृणित युद्ध अपराध हो’ विदेश मन्त्रालयका प्रवक्ता बघाईले यसलाई कुनै साधारण मानवीय त्रुटि नभई योजनाबद्ध परीक्षण भएको दाबी गर्नुभएको छ। आफ्नो पोस्टमा उहाँले लेख्नुभएको छ, “यो कुनै गल्ती थिएन– यो त इरानी नागरिकहरूमाथि नयाँ हतियार प्रणालीको विनाशकारी शक्ति परीक्षण गर्ने एउटा सुनियोजित निर्णय थियो।”
उहाँले सर्वसाधारणमाथि गरिएको यस प्रकारको अमानवीय आक्रमणलाई ‘स्पष्ट र घृणित युद्ध अपराध’ को संज्ञासमेत दिनुभएको छ।










