होमपेज » हेडलाइन » आगजनीको अवरोध झेल्दै नेपालगन्ज उच्च अदालतले टुङ्ग्यायो दुई वर्ष पुराना सबै मुद्दा

आगजनीको अवरोध झेल्दै नेपालगन्ज उच्च अदालतले टुङ्ग्यायो दुई वर्ष पुराना सबै मुद्दा

शनिबार, २ श्रावण २०८३, १५:३५

काठमाडौं । उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट गर्दै न्याय सम्पादनमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै अदालतले आन्दोलन र आगजनीको चुनौतीपूर्ण अवस्थाका बाबजुद पनि पुराना मुद्दालाई पूर्ण रूपमा किनारा लगाएको जानकारी दिएको हो ।

 

शुक्रबार आयोजित कार्यक्रममा न्यायाधीश बामदेव ज्ञवालीले अदालतको कार्यसम्पादन विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार, अदालतमा देवानीतर्फ अंशबन्डा, मानाचामल र सम्बन्धविच्छेद तथा फौजदारीतर्फ लागूऔषध, चोरी, डकैती, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग र बैंकिङ कसुरलगायतका मुद्दाहरू उल्लेख्य मात्रामा फर्छ्यौट भएका छन् । अब १८ महिना नाघेका जम्मा १५ वटा मात्र मुद्दा बाँकी रहेको र तिनलाई पनि चालु साउन महिनाभित्रै टुङ्गो लगाउने अदालतको लक्ष्य रहेको न्यायाधीश ज्ञवालीले स्पष्ट पार्नुभयो ।

 

तथ्याङ्कलाई हेर्दा, गत आर्थिक वर्षमा अदालतको कुल मुद्दा लगत दुई हजार १६३ रहेको थियो । जसमा अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ६४२ र नयाँ दर्ता भएका एक हजार ५२१ मुद्दा समावेश थिए । तीमध्ये एक हजार ३५४ मुद्दा किनारा लागेका छन् भने ८०९ वटा मुद्दा हाल चालु अवस्थामै छन् । प्रतिशतका आधारमा अदालतले कुल लगतको ६२.६० प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । अदालतले आफ्नो वार्षिक कार्ययोजनामा अनुमानित लगतका आधारमा एक हजार ७४३ मुद्दा टुङ्ग्याउने लक्ष्य राखेकोमा लक्ष्यको तुलनामा भने ७७.७ प्रतिशत उपलब्धि प्राप्त भएको छ ।

 

यद्यपि, अघिल्ला आर्थिक वर्षहरूको तुलनामा यसपटक समग्र फर्छ्यौट दरमा केही गिरावट आएको छ । आर्थिक वर्ष २०८०/८१ मा ७१.४१ प्रतिशत र २०८१/८२ मा ७५.७४ प्रतिशत रहेको फर्छ्यौट दर यसपटक ६२.६० प्रतिशतमा झरेको हो । यसको मुख्य कारण भदौ २३ र २४ गते भएको आन्दोलन र अदालतमा गरिएको आगजनीलाई मानिएको छ । आगजनीका कारण करिब चार महिनासम्म अदालतको सुनुवाइ प्रक्रिया नै रोकिएको थियो । तर, चुनौतीपूर्ण अवस्थाका बीच पनि अदालतले आगजनीमा जलेका ७५३ वटै मिसिलको प्राप्ति र प्रमाणीकरण गर्ने कार्य भने शतप्रतिशत सम्पन्न गरेको छ ।

 

उच्च अदालतको क्षेत्राधिकारभित्र पर्ने बाँके र बर्दिया जिल्ला अदालतको कार्यसम्पादन पनि सार्वजनिक गरिएको छ । गत आर्थिक वर्षमा बाँके जिल्ला अदालतमा रहेका कुल सात हजार ४७ मुद्दामध्ये दुई हजार ७३३ वटा मुद्दा फर्छ्यौट भएका छन् । बाँकेमा अझै चार हजार ३१४ मुद्दा विचाराधीन रहँदा त्यहाँको फर्छ्यौट दर करिब ३८.८ प्रतिशत कायम भएको छ । त्यस्तै, बर्दिया जिल्ला अदालतले सोही अवधिमा एक हजार ३१२ वटा मुद्दा फछ्र्योट गरेको अदालतले जनाएको छ ।