होमपेज » हेडलाइन » रेडक्रसको ६४औँ स्थापना दिवसः संखुवासभामा छात्रवृत्ति वितरण तथा शुभकामना आदानप्रदान

रेडक्रसको ६४औँ स्थापना दिवसः संखुवासभामा छात्रवृत्ति वितरण तथा शुभकामना आदानप्रदान

आईतवार, २१ भाद्र २०८३, १२:२२

संखुवासभा । नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी संखुवासभा जिल्ला शाखाले छात्रवृत्ति वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाइटी संखुवासभा जिल्ला शाखाका सभापति सरोजकुमार बज्राचार्यको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको हो।

प्रमुख अतिथि शाक्यले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले मानवीय सेवाका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानबारे चर्चा गरिएको थियो। कार्यक्रममा बोल्दै शाखाका सभापति बज्राचार्यले लामो समयदेखि संस्थाको नेतृत्वमा रहँदा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सबै पक्षको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। पछिल्लो समय स्थानीय तहहरूले प्रभावितलाई स्थानीय स्तरमै राहत तथा सहयोग उपलब्ध गराउन थालेपछि रेडक्रसको भूमिका केही ओझेलमा परेको जस्तो देखिए पनि निष्पक्ष र स्वतन्त्र मानवीय संस्थाका रूपमा रेडक्रसले समुदायस्तरमा पुर्‍याउँदै आएको योगदान अतुलनीय रहेको उहाँले बताउनुभयो।

 

कार्यक्रममा संखुवासभा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सञ्जीव श्रेष्ठ, नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्य, सिर्जनशील सामुदायिक विकास केन्द्रकी अध्यक्ष राधादेवी बस्नेत, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र खाँदबारीकी प्रमुख रचना आचार्य तथा अक्षयकोष दाताका परिवारका सदस्य एवं समाजसेवी रमोद श्रेष्ठलगायतले नेपालमा रेडक्रसले पुर्‍याउँदै आएको मानवीय सेवाको प्रशंसा गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन मानव अधिकारकर्मी तथा रेडक्रसकर्मी रुद्रनाथ दाहालले गर्नुभएको थियो। सोही अवसरमा जाँ हेनरी ड्युना र स्वर्गीय चन्द्रमाया श्रेष्ठको स्मृतिमा स्थापित अक्षयकोषबाट विभिन्न विद्यालयका सात जना विद्यार्थीलाई नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो।

वि.सं. २०७१ भदौ १९ गते स्थापना भएको स्वर्गीय चन्द्रमाया श्रेष्ठ जुनियर तथा युवा रेडक्रस सर्कल छात्रवृत्ति कोष’ बाट पाँच जना र जाँ हेनरी ड्युना छात्रवृत्ति’ बाट दुई जना गरी जम्मा सात जना विद्यार्थी छात्रवृत्तिबाट लाभान्वित भएका हुन्।

स्वर्गीय चन्द्रमाया श्रेष्ठ जुनियर तथा युवा रेडक्रस सर्कल छात्रवृत्ति कोषबाट छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा जनता माध्यमिक विद्यालय, खाँदबारी नगरपालिका–१०, चन्दनपुरकी कक्षा ५ की छात्रा प्रविना राई, शारदा माध्यमिक विद्यालय, चैनपुर नगरपालिका–१०, खराङका कक्षा १० का विवश विश्वकर्मा, वागेश्वरी माध्यमिक विद्यालय, खाँदबारी नगरपालिका–ढुङ्गेधाराका कक्षा ६ का मनोज तामाङ र सिंहेश्वरी माध्यमिक विद्यालय, धर्मदेवी नगरपालिका–मुडेककी कक्षा ८ की छात्रा जुनु श्रेष्ठ , सिंहेश्वरी मा बि खाँदबारी नगरपालिका ९ बोहराटार मनिष बस्नेत कक्षा ६ र मन्जिल तामांग कक्षा ८ नारायण मा बि मादी खाँदबारी नगरपालिका मादी मन्जिल तामांग कक्षा ८ रहेका छन्। उनीहरूलाई जनही पाँच हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको थियो।

यसैगरी, वाना माध्यमिक विद्यालय, पाँचखपन नगरपालिका–वाना की कक्षा ११ की छात्रा शर्मिला तामाङलाई नौ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई छात्रवृत्तिसहित प्रमाणपत्रसमेत वितरण गरिएको थियो।