होमपेज » समाचार » महाअभियोग प्रस्तावबाट राष्ट्रपतिलाई हटाऊ : तरुण दल

महाअभियोग प्रस्तावबाट राष्ट्रपतिलाई हटाऊ : तरुण दल

शुक्रबार, ७ जेष्ठ २०७८, ११:२३

काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग प्रस्ताव लगाएर हटाउन माग गरेको छ । प्रधानमन्त्री पदमुक्त नहुँदै राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गरी राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउन माग गरेका हुन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘राष्ट्रपति ज्यूको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ ।’

संविधानविरुद्ध राष्ट्रपतिद्वारा फेरी घात भएको तरुण दलको ठहर छ । ‘संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत छ । संविधानविरुद्ध राष्ट्रपतिद्वारा फेरी घात भएको र यो संविधान विरुद्धको अपराध हो,’ विज्ञप्तिमा लेखिएको छ ।