होमपेज » समाचार » चार्टर उडान : निजीलाई पोस्ने यात्रु लुट्ने काम !

चार्टर उडान : निजीलाई पोस्ने यात्रु लुट्ने काम !

सोमबार, ३२ श्रावण २०७८, १७:०५

काठमाडौं । सामान्य अवस्थामा नेपाल एयरलाइन्सले काठमाडौंबाट कतारको दोहा रूटमा प्रतियात्रु ३० हजार रूपैयाँ लिएर यात्रु बोक्ने गरेको थियो । कोभिड–१९ महामारीका कारण सरकारले २०७८ वैशाख २४ गतेबाट नियमित उडान बन्द गरेपछि यही सरकारी ध्वजावाहकले चार्टर उडानका नाममा प्रतियात्रु ८५ हजार रूपैयाँसम्म भाडा असुल्यो ।

 

काठमाडौं–डायलस (अमेरिका) का लागि कतार एयरलाइन्सले तोकेको भाडादर ७५ हजार रूपैयाँ छ । कोभिड–१९ महामारीपछि चार्टर उडानको अनुमति पाएको यो एयरलाइन्सले पनि सरकारी ध्वजावाहककै पद्चाप पछ्याउँदै नियमितको भन्दा ३ गुणा बढीसम्म भाडा असुलेको गुनासो यात्रुले गरेका छन् । हिमालय एयरलाइन्सको सामान्य अवस्थामा काठमाडौं–साउदी अरेयिबा (दमाम) को प्रतियात्रु भाडा ३० हजार रूपैयाँ हो । तर चार्टर उडानको अवसर पाएको यो एयरलाइन्सले पनि मौकामा चौका हान्दै ७५ हजारदेखि ९० हजार रूपैयाँसम्म असुलेको पाइएको छ ।

 

२०७८ वैशाख २४ मा भारतबाहेकका देशमा नियमति अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि त्यसको १ महिना १९ चार्टर उडान भए । जसमा नेपाल एयरलाइन्सले ६, कतार र हिमालयन एयरलाइन्सले समान ५÷५ र टर्किस एयरलाइन्सले ३ उडान गरे । नियमित उडानको अनुमतिपछि असार १७ सम्म ५९ चार्टर उडान भए । जसमा नेपाल एयरलाइनसले सबैभन्दा बढी २०, हिमालय र कतार एयरलाइन्सले १६÷१६ र टर्किसले ७ उडान भरे । विभिन्न देशमा चार्टड उडानको अनुमति दिएको सरकारले भाडादर पनि तोकेको थियो । तर चार्टर उडानको अनुमति पाएका राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सदेखि विदेशी एयरलाइन्स सबैले यात्रुसँग मनमौजी भाडा असुलेर करोडौं रूपैयाँ ठगी गरेका छन् । यात्रुमाथि मनपरी ठगी भइरहे पनि राज्यका निकाय भने मौन छन् ।

 

दोषी जोगाउने प्रपञ्च गर्दै छानबिन समिति

चार्टड उडानमा यात्रु ठगिएको गुनासोपछि सरकारले यसबारे छानबिन गर्न २०७८ असार ७ मा समिति बनायो । ५ सदस्यीय समितिको संयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल स्वयं छन् । समितिमा मन्त्रालयलगायत निकायका प्रतिनिधि पनि सम्मिलित छन् ।

 

समितिले सुरुमा उजुरी आह्वान गरेको थियो । तर सीमित व्यक्तिले मात्र आफू ठगिएको उजुरी दिएका छन् । समितिका अनुसार, हालसम्म २३ वटा उजुरी मात्र परेका छन् । यसमा कतिपय एयरलाइन्सले ठगी गरेको भेटिएको छ । कतिपयले चाहिँ ट्राभल्स एजेन्सीसँगको मिलेमतोमा कम्पनीसँग भाडा रकममा फाइदा निकाल्न चर्को शुल्क राखेको पाइएको छ । अर्थात्, एयरलाइन्स र ट्राभल्स एजेन्सीको यसमा मिलेमतो देखिएको छ । तर समितिले झण्डै २ महिना गुज्रनै लाग्दासमेत अहिलेसम्म छानबिन टुंगोमा पु¥याएको छैन ।

 

स्रोतका अनुसार, विदेशी एयरलाइन्सलाई कारबाही गर्ने क्षेत्राधिकार नरहेको तर्क गर्दै उन्मुक्ति दिन लागिएको छ । छानबिन समितिका संयोजक स्वयंले सार्वजनिक रूपमै हवाई उडानसम्बन्धी रुल्स एण्ड रेगुलेसनले अन्तर्राष्ट्रिय एयरलाइन्सलाई कारबाही गर्न समस्या रहेको बताएका छन् ।

 

स्वदेशी विमान कम्पनीलाई भने उसले कारबाही गर्न सक्छ । स्वदेशीको हकमा जरिवानादेखि उडान प्रतिबन्धसम्मको कारबाही प्राधिकरणले गर्न सक्छ । तर चार्टड उडानको भाडा तोक्ने अधिकार आफ्नो नभएको भन्दै स्वदेशी एयरलाइन्सलाई पनि जोगाउने प्रपञ्च गरिएको छ । चार्टर उडानमा सबैभन्दा धेरै बदमासी गर्ने ट्राभल्समाथि पनि कारबाही नहुने खतरा बढेको छ । यसमाथि अनुगमन तथा कारबाहीको क्षेत्राधिकार प्रदेशसँग रहेको भन्दै समितिले पत्र पठाउने तयारी गरेको प्राधिकरण स्रोतले जनायो ।

 

 

चार्टर उडान : निजीलाई पोस्ने काम

चार्टड उडानका लागि राष्ट्रिय ध्वाजावाहक नेपाल एयरलाइन्ससँग क्षमता नभएको होइन । तर उसलाई पन्छाएर निजी विमान कम्पनी पोस्ने काम पनि भएको छ । वैशाख २४ मा भारतबाहेकका देशमा नियमति अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि ७८ चार्टड उडान गरिए । जसमा २६ उडान मात्र नेपाल एयरलाइन्सले ग¥यो । बाँकी उडानमा हिमालयन, कतार एयरलाइन्सलगायतले कब्जा जमाए । सरकारी ध्वजावाहकले पनि कतिपय उडानमा अरुचि देखाएको पाइएको छ । एयरलाइन्सको यो हर्कत अझै रहस्यमय रहेको जानकारहरू बताउँछन् । ‘सरकरी ध्वाजावाहकलाई चार्टड उडान बढी दिन सकिने भए पनि मिलेमतोमा निजीलाई पोस्ने काम गरिएको छ,’ स्रोतले भन्यो ।

 

नागरिक उड्डयन प्राधिकरण भने नेपाल एयरलाइन्सकै रुचिका कारण निजीले बढी चार्टड उडान गरेको बताउँछ । कोभिड–१९ का कारण विभिन्न देशहरूले कठोर र खर्चिलो प्रावधान राखेपछि नेपाल एयरलाइन्सले चार्टड उडान कम गरेको प्राधिकरणको तर्क छ । तर निजीलाई फाइदा हुँदा नेपाल एयरलाइन्सलाई नोक्सान हुने तर्क वस्तुसंगत देखिँदैन ।

 

सामान्य उडानमा पनि उस्तै मनपरी

मन्त्रिपरिषद्को गत असार २२ को बैठकले कोभिड–१९ का कारण बन्द रहेका आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको थियो । यसपछि सबैजसो एयरलाइन्सले नियमित उडान थालेका छन् । नियमति उडान थालेका एयरलाइन्सहरूले मनमौजी भाडा बढाएका छन् । नियमनकारी निकायको मौनताले एयरलाइन्सहरूले तीन गुणासम्म भाडा वृद्धि गरेका हुन् ।

 

दण्डहीनताले मौलाउँदै ठगी

२०७६ चैत १० मा पहिलो पटक लकडाउन घोषणा भएपछि अन्तर्राष्ट्रिय उडान बन्द भए । त्यसपछि सरकारले विभिन्न एयरलाइन्सलाई चार्टड उडानको अनुमति दियो । यसरी अनुमति पाउनेमा नेपाल एयरलाइन्सलगायत थिए ।

 

कोरोनाको पहिलो लहरमा भएका चार्टड उडानमा पनि दोस्रो लहरमा जस्तै यात्रु ठगिएका थिए । यात्रुबाट करोडौं रूपैयाँ अनधिकृत ढंगले असुलिएपछि तिनीहरूमाथि कारबाहीको माग भयो । तर कतैबाट चासो देखाइएन । अहिले त्यही दण्डहीनताका कारण उसैगरी यात्रुमाथि ठगी गरिएको सरोकारवालाहरू बताउँछन् ।

-साँघुबाट