काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे नेपालका राजनीतिक दल र सत्ता गठबन्धनमा अहिले फेरि चर्चा र बहस सुरु भएको छ । भदौ २३ गते संसद् अधिवेशनसमेत आह्वान भएकाले एमसीसीको बहस झनै सघन बनेको छ ।
विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले संसद्बाट एमसीसी प्रस्ताव अघि बढाउन खोज्दा तत्कालीन नेकपाका नेताहरूले नै चर्को विरोध गरेपछि अघि बढ्न सकेको थिएन । अब माओवादीसमेत संलग्न सरकारले एमसीसी के गर्ला भन्ने प्रश्न उब्जेको छ । विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई एमसीसी के हुन्छ ? भनेर प्रश्न सोधेका छन् ।
एमसीसी अन्तर्गतको कम्प्याक्ट परियोजना वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेसँगै थप बहसमा आउन थालेको हो । फरक–फरक धारणा राख्दै आएका दलहरूको गठबन्धनबाट बनेको देउवा सरकारलाई यही फरक धारणाकै कारण एमसीसी घाँडो हुने संकेत देखिएको छ ।










