काठमाडौं । चन्द्रागिरि नगरपालिकाको प्रमुख घनश्याम गिरीले थानकोटको सहीद पार्कको अनुगमन गर्नुभएको छ । आर्थिक वर्ष २०८१-०८२ मा चन्द्रागिरि नगरपालिका भित्र परेका तीन वटा समपुरक योजना मध्ये थानकोटको सहीद पार्क (त्रिभुवन पार्क) को योजना पनि एक हो । उक्त योजना मध्ये अहिले पार्कमा पुर्नर्निमाणको काम धमाधम भइरहेको छ । ३ करोड रुपैयाँ र नगरपालिकाको थप ६० लाख रुपैयाँ बजेटबाट पुर्नर्निमाण भइरहेको योजनाको कामको प्रमुख गिरीले अवलोकन गर्नुभएको हो ।
प्रमुख गिरीले अनुगमनको क्रममा डीपिआर अनुसार नै काम गर्न र समयमा नै काम सक्न ठेकेदारलाई निर्देशन दिनुभएको थियो । उहाँले पार्क चन्द्रागिरि नगरपालिकाको शान भएपनि लामो समयदेखि राजनीतिक रस्साकस्सीले पार्क पार्क जस्तो नभएको बताउनु भयो । उहाँले अहिले स्थानीय निकायको पहलमा पार्कको पुर्नर्निमाणको काम भइरहेको बताउँदै पार्कले अब पुर्नजीवन पाउने दाबी गर्नुभयो ।
यसअघि पार्कलाई पहिलाकै अवस्थामा फर्काउनको लागि केन्द्र देखि परदेशसम्मका मन्त्रीहरु पार्कको निरिक्षण गरेका थिए । पार्कमा प्रदेशका मन्त्रीहरुले अवलोकन गर्थे र भन्थे पार्कलाई पहिलाकै अवस्थामा फर्काउछौं । मन्त्रीहरुले अवलोकन गरेपछि अब पार्क बनाउँछौं भन्दा स्थानीयमा आशाको दियो पलाउँथ्यो । उहाँहरुले स्थानीयमा आशाको दियो त बाल्नु हुन्थ्यो तर, नेपालको राजनीति सरकार केही दिनमै ढल्थ्यो । यस्तै यस्तै गर्दै वर्षौ वित्यो, पार्क सधै राजनीतिको कोपभाजनमा पर्दै गयो । कुनै बेला स्वदेश मात्र नभई विदेशमा पनि चर्चा हुने थानकोटको यो त्रिभुवन पार्कले परिचित सहीद पार्कको अस्थित्व लगभग सकिएको थियो । शौन्दर्यता र अस्थित्व सक्किएपछि यो पार्कलाई प्रायःले विर्सिसकेका थिए । स्थानीय निकायले पुनः पार्कको अस्थित्व फर्काउने प्रयास गरेको छ ।
चन्द्रागिरि नगरपालिकाले आ.ब. २०८१-०८२ मा नगरको गौरबको तीन योजना मध्ये पार्कलाई समेट्यो । फलस्वरुप स्थानीय निकायको पहलमा ३ करोडको समपुरक बजेट र थप नगरपालिकाले ६० लाख रुपैयाँ विनियोजन गरेपछि पार्कलाई कलात्मक रुपमा सजाउन थालिएको छ । जसबाट स्पष्ट हुन्छ कि अब पार्कले पुर्नजीवन पाउने छ । Our News Crew बाट……










