काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले झापाको दमक नगरपालिका–८ मा आफ्नो २९औँ शाखा कार्यालय औपचारिक रूपमा उद्घाटन गरेको छ। शाखाको उद्घाटन वडा नं. ८ का अध्यक्ष धर्मप्रसाद दाहाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकुमार यादवले संयुक्त रूपमा गरेका हुन्।
उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि, बीमा अभिकर्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। सो अवसरमा बोल्दै वडा अध्यक्ष दाहालले माइक्रो लाइफ इन्स्योरेन्सले विशेषगरी न्यून आय भएका समुदायलाई लक्षित गर्दै आर्थिक सुरक्षा प्रदान गर्ने महत्वपूर्ण काम गरिरहेको बताए। उनले यस्ता सेवाहरू ग्रामीण तथा दूरदराजसम्म विस्तार हुनु सकारात्मक संकेत भएको उल्लेख गरे।
कम्पनीका सीईओ यादवले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको मुख्य उद्देश्य सर्वसाधारणको जीवनमा आर्थिक सुरक्षा सुनिश्चित गर्नु रहेको बताए। उनले कम्पनीले सरल, सुलभ र जनमुखी बीमा सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा सेवा विस्तारलाई अझ तीव्र बनाइने जानकारी दिए।
कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत अशोक कुवैरले माइक्रो बीमा विशेषगरी विपन्न वर्गका लागि डिजाइन गरिएको सेवा भएको स्पष्ट पारे। उनका अनुसार सानो प्रिमियममार्फत ठूलो सुरक्षा प्रदान गर्ने लक्ष्यसहित कम्पनीले सेवा प्रवाह गर्दै आएको छ र यसलाई जनस्तरसम्म पुर्याउन प्रभावकारी रणनीति अपनाइएको छ।
त्यसैगरी, कार्यक्रममा कम्पनीका दाबी विभाग प्रमुख गोविन्द रेग्मी र प्रदेश प्रमुख राम पोखरेलको पनि सहभागिता रहेको थियो। शाखा सञ्चालनमा आएपछि दमक क्षेत्रका सेवाग्राहीले बीमा सेवा सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रमको सञ्चालन दमक उपशाखा प्रबन्धक रमा खड्काले गरेकी थिइन्। कम्पनीले आगामी दिनमा देशभर आफ्नो पहुँच विस्तार गर्दै माइक्रो बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको जनाएको छ।










