सरकार र विभिन्न माग सहित आन्दोलनरत थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समिति बिच वार्ता भएको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठितको सरकारी वार्ता टोली र आन्दोलनरत समिति बिच आज गृह मन्त्रालयमा पहिलो चरणको वार्ता शुरु भएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।
सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद् भगवती चौधरी सदस्य रहेका छन् । यस्तै, थरुवानका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी र प्रभात चौधरी सदस्य छन् ।
वार्तामा संघर्ष समितिले सरकारसँग राखेको टिकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायत माथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, आन्दोलनको क्रममा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्थासहितका १९ बुँदे मागमाथि छलफल हुने बताइएको छ ।










