काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई समाप्त पार्न सरकार नै लागिपरेकाले सजग रहनुपर्ने बताएका छन् । आज एमाले संसदीय दलको बैठकपछि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिदै ओलीले देश नै गम्भिर अवस्थामा पुगेको बताए ।
‘देश नै गम्भिर अवस्थामा छ । अनेक हिसावले यो सरकारले लोकतन्त्रलाई हुर्मत लिन र समाप्त पार्न खोजेको छ’, ओलीले भने, ‘कथित गठबन्धनमा लोकतन्त्र मास्न लागेकाहरू छन् ।’ उनले सत्तारुढ गठबन्धन आफ्नो स्वार्थका लागि मात्रै काम गरिरहेको भन्दै जे गर्न पनि तयार हुने र दृष्टिकोणविहिन मानिसहरु भएको गठबन्धनबाट लोकतन्त्रको रक्षा हुन नसक्ने बताए । ओलीले जनताको अभिमत र संसदीय प्रक्रियाबाट सरकार नबनेकाले उनीहरुमा जनताप्रतिको उत्तरदायित्व समेत नभएको बताए ।
‘लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियाबाट आएको होइन यो सरकार, परमादेशबाट आएको’, ओलीको भनाइ छ । उनले एमालेले कारवाही गरेका १४ संसदमाथिको सूचना ननिकालेर सभामुख पार्टीको लाचार छाया भएको आरोप समेत लगाए । त्यस्तै उनले संसद अधिवेशन छापामार शैलीमा बन्द गरेर अध्यादेश ल्याएकोमा सरकारको चर्को आलोचना गरे ।










