होमपेज » खेलकुद » विश्वकप फुटबल छनोट खेलमा नेपाल पराजित

विश्वकप फुटबल छनोट खेलमा नेपाल पराजित

युएई समूहको शीर्ष स्थानमा

शुक्रबार, २५ जेष्ठ २०८१, ०७:४१

सन् २०२६ का फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा युएईसँग नेपाल पराजित भएको छ । नेपाल युएईसँग बिहीबार साउदी अरेबिया दमामस्थित प्रिन्स मोहमद विन मैदानमा भएको खेलमा पराजित भएको हो ।

 

दोस्रो चरण अन्तर्गत खेलमा युएईले नेपाललाई ४-० ले पछि परेका थिए । युएईलाई जित दिलाउन हरिब अब्दुल्लाह अल्मुशरखले दुई तथा अली सलेह अम्रो र हाजिम अब्बासले १,१ गोल गरेका हुन् ।

 

उक्त खेलमा युएईका १२औं अल्मुशरखले १२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएको थियो । उनले अब्दुल्लाह इद्रिसको सहयोगमा हेडमार्फत गोल गरेका हुन् । अल्मुशरखले पुनः दुई मिनेट नबित्दै गोल गरेर टोलीको अग्रतालाई दोब्बर बनाए । उक्त गोल अल्मुशरखले टोलीका खेलाडी अली सलेह अम्रोको थ्रु पासमा गरेको हो ।

 

त्यस्तै युएईको अम्रोले खेलको ५३औं मिनेटमा गोल गर्दै ३-० ले अगाडि बढे । अम्रोको गोल टोलीका तनोन हमदनको सहयोगमा भएको थियोे । खेलको ७५औं मिनेटमा युएईका खेलाडी अब्बासले गोल गर्दै टोलीलाई ४ गोलको अग्रता दिलाए । उक्त गोल खेल मैदानको लगभग मध्य भागबाट प्रहार गर्दा भएका हुन् ।

 

लगातार पाँचौं जितसँगै युएईले १५ अंक जोडेको छ । युएई समूह ‘एच’ को शीर्ष स्थानमा छ । नेपाल भने पाँचै खेलमा पनि पराजित भएपछि अंकविहिन बनेको छ ।

 

अब नेपालले सन् २०२६ विश्वकप छनोटअन्तर्गतको अन्तिम खेलमा मंगलबार यमनसँग खेल्नेछन् ।