काठमाडौं । चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि भक्तजनको उल्लेखनीय भीड लागेको छ।
राजधानीका भद्रकाली, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती र गुह्येश्वरीलगायतका प्रमुख मन्दिरहरूमा दर्शन र पूजा-अर्चना गर्ने श्रद्धालुहरूको घुइँचो देखिएको छ। भक्तजनहरूले देवीको आराधना गर्दै शान्ति, समृद्धि र मनोकामना पूर्तिको कामना गरेका छन्।
चैते दसैँका दिन देवीको उपासना गर्दा सुख, शान्ति र इच्छित फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। यस अवसरमा उपत्यकाबाहिरका गोरखाको मनकामना, पोखराको विन्ध्यवासिनी, बागलुङको कालिका तथा ताप्लेजुङको पाथीभरालगायतका प्रसिद्ध शक्तिपीठहरूमा पनि दर्शनार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको छ।
वर्षमा दुई पटक मनाइने दसैँमध्ये चैत्र महिनामा पर्ने यस पर्वलाई ‘सानो दसैँ’ का रूपमा पनि चिनिन्छ। असोजमा मनाइने बडादसैँझैँ यस दिन पनि शक्तिस्वरूपा भगवतीको विशेष पूजा गर्ने परम्परा रहेको छ।
चैते दसैँको भोलिपल्ट अर्थात् चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइने परम्परा छ। भगवान श्रीरामको जन्मजयन्तीका अवसरमा देशभरका राम मन्दिरहरूमा विशेष पूजाआजा तथा उत्सव आयोजना गरिन्छ।










