होमपेज » आर्थिक » कुमारी बैंकद्वारा मास्टरकार्ड सेवा शुभारम्भ, डिजिटल बैंकिङमा नयाँ उपलब्धि

कुमारी बैंकद्वारा मास्टरकार्ड सेवा शुभारम्भ, डिजिटल बैंकिङमा नयाँ उपलब्धि

शुक्रबार, १३ चैत्र २०८२, १२:०८

काठमाडौं । कुमारी बैंक लिमिटेडले मास्टरकार्ड सेवा औपचारिक रूपमा शुभारम्भ गर्दै डिजिटल बैंकिङ सेवामा महत्वपूर्ण विस्तार गरेको जनाएको छ।

बैंकले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत बिहीबारदेखि आफ्ना ग्राहकहरूका लागि डेबिट मास्टरकार्ड जारी गर्न सुरु गरेको जानकारी दिएको हो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले कुमारी बैंकले डिजिटल रूपान्तरण र ग्राहकमैत्री सेवामा निरन्तर अग्रसरता लिँदै आएको उल्लेख गर्दै मास्टरकार्डजस्ता अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीले बैंकको सेवा दायरा अझ विस्तार गर्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्रकारले मास्टरकार्डको उपयोगिता, यसको प्रयोगका सम्भावना तथा ग्राहकलाई हुने फाइदाबारे जानकारी गराउँदै डेबिट मास्टरकार्डले भौतिक र डिजिटल दुवै माध्यमबाट सुरक्षित तथा सहज भुक्तानी सुविधा प्रदान गर्ने बताए।

उनका अनुसार, कुमारी बैंकको डेबिट मास्टरकार्ड नेपाल, भारत र भुटानका मास्टरकार्ड स्वीकार गर्ने एटिएम तथा पीओएस मेसिनहरूमा प्रयोग गर्न सकिनेछ। साथै, निकट भविष्यमै क्रेडिट कार्ड सेवा पनि सुरु गर्ने तयारी भइरहेको र अनलाइन तथा अन्तर्राष्ट्रिय भुक्तानीलाई समेत थप सहज बनाइने बैंकले जनाएको छ।

बैंकले गत वर्षदेखि आफ्ना एटिएमहरूमा मास्टरकार्ड स्वीकार गर्दै आएको र अब आफ्नै कार्ड जारी गरेसँगै ग्राहक सेवामा थप सहजता आउने विश्वास व्यक्त गरेको छ।

विगत २४ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २९७ शाखा, ३१५ एटिएम, ४६ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा डिजिटल कारोबारलाई थप प्राथमिकता दिँदै अझ सरल, सुरक्षित र प्रभावकारी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।