होमपेज » आर्थिक » स्वास्थ्य बीमा सेवा अब डिजिटल कार्डमार्फत अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन

स्वास्थ्य बीमा सेवा अब डिजिटल कार्डमार्फत अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन

सोमबार, १४ बैशाख २०८३, १४:१६

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक सबै स्वास्थ्य संस्थालाई डिजिटल कार्डमार्फत स्वास्थ्य बीमा सेवा प्रवाह गर्ने व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको नाममा परिपत्र जारी गर्दै बीमितको सहजताका लागि डिजिटल प्रणाली लागू गर्न आग्रह गरेको हो।

यसअघि बीमितको स्वास्थ्य बीमा परिचयपत्र (बीमा कार्ड) साथमा नभएको अवस्थामा नागरिक एप, एचआईबी प्रोफाइल लगायतका डिजिटल माध्यमबाट तयार गरिएको क्यूआर कोड स्क्यान गरी सेवा प्रदान गर्ने व्यवस्था बीमा बोर्डको २०८० फागुन २४ गतेको बैठकले निर्णय गरी कार्यान्वयनमा ल्याइएको थियो।

तर, हालसम्म पनि केही स्वास्थ्य संस्थाहरूले उक्त डिजिटल सेवा पूर्ण रूपमा लागू नगरेको गुनासा प्राप्त भएपछि बोर्डले यसलाई कडाइका साथ अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। बोर्डले अब उप्रान्त सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले डिजिटल कार्ड प्रणालीमार्फत मात्र सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने स्पष्ट पारेको छ।