सिरहा, । लहान नगरपालिकामा निर्माणाधीन बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानी सङ्कट समाधान गर्न मद्दत पुग्ने सरोकारवालाहरूले बताएका छन् । चुरे संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यसहित वडा नं. १५ र १८ मा यसअघि निर्माण गरिएका नौ वटा कृत्रिम पोखरीपछि राजदेवी चुरे सामुदायिक वनभित्र पर्ने ढोड्ना खोलाकिनारको करिब १० बिघा क्षेत्रमा नयाँ बृहत् पोखरी निर्माण सुरु गरिएको हो ।
स्थानीय जनप्रतिनिधि तथा वातावरणविद्हरूका अनुसार यो परियोजनाले चुरे फेदी क्षेत्रमा देखिएको पानी अभाव कम गर्नुका साथै सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने अपेक्षा गरिएको छ ।
लहान नगरपालिका–१५ का वडाध्यक्ष तेजनारायण चौधरीका अनुसार नयाँ पोखरी निर्माणपछि आसपासका करिब ५०० बिघा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।
वातावरणविद् दिनेश यादवले पुराना आहाल र पोखरी मासिँदै जाँदा चुरे क्षेत्रमा पानीका मुहान सुक्दै गएको उल्लेख गर्दै कृत्रिम पोखरीले वर्षाको पानी संकलन गरी जमिनमुनि पानी पुनर्भरण (वाटर रिचार्ज) मा सहयोग गर्ने बताए ।
त्यस्तै, केयर नेपालका कार्यक्रम व्यवस्थापक जगदीश भट्टले यस्ता संरचनाले वन्यजन्तुको पानीको आवश्यकता पूरा गर्नुका साथै जैविक विविधता संरक्षण, माछापालन र पर्यापर्यटन प्रवर्द्धनमा समेत योगदान गर्ने बताए ।
लहान नगरपालिकाका अनुसार केयर नेपाल, फेकोफन र राष्ट्रिय कृषक समूह महासङ्घको सहकार्यमा सञ्चालन भइरहेको संरक्षण परियोजनाअन्तर्गत करिब रु १० लाख ५१ हजार लागतमा पोखरी निर्माण भइरहेको हो । निर्माण कार्य एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
नगरप्रमुख महेश चौधरीले चुरे संरक्षणलाई नगरपालिकाले प्राथमिकतामा राखेको उल्लेख गर्दै वन क्षेत्रको पानी सङ्कटले तल्लो तटीय कृषिमा समेत असर पारेकाले कृत्रिम पोखरी निर्माण अभियानलाई निरन्तरता दिइएको बताए । रासस










